बीरगंज । भारतबाट विद्युत् आयात कटौती भएपछि अघोषित लोडसेडिङका कारण बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू सङ्कटमा परेका छन् ।
विद्युत् आपूर्ति अनिश्चित भएपछि निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित भएका हुन् ।निर्माण सामग्रीको माग बढ्ने समयमा विद्युत् कटौती तीव्र बनेपछि उद्योगको उत्पादन अवरुद्ध भएको उद्योगी व्यवसायीहरू बताउँछन् ।
विशेषगरी उच्च विद्युत् खपत गर्ने सिमेन्ट, डण्डी, पाइप, पेन्ट्स लगायतका उद्योगहरूलाई बढी असर परेको छ । बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा करिब ३ दर्जन यस्ता उद्योग रहेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले ११ केभीए प्रसारण लाइन लिएका उद्योगमा दैनिक ७–८ घण्टा विद्युत् कटौती भइरहेको र ३३ र ६६ केभीए प्रसारण लाइन लिएका उद्योगमा १२ घण्टासम्म लाइन काटिएको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका उद्योग समिति अध्यक्ष दीपेश अग्रवालका अनुसार, आपूर्ति गरिएको समयमा पनि पटक–पटक लाइन काटिने भएकाले उद्योगका कच्चापदार्थ खेर जाने, उपकरण र मोटर बिग्रने समस्या बढेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले भारत र बङ्गलादेशलाई बिजुली निकासीको योजना बनाउने सरकारले स्वदेशी उद्योगलाई नै बिजुली दिन नसक्नु लज्जास्पद भएको बताए ।
नेपाल विद्युत् प्राधिकरण, वीरगञ्जका प्रमुख अवधेश दुवेले चैत ३ गतेदेखि भारतबाट आयात हुने बिजुलीको समय कटौती गरिएपछि आपूर्तिमा समस्या आएको जानकारी दिए।
यसअघि भारतबाट दैनिक २० घण्टा विद्युत् आयात भइरहेकोमा अहिले १२ घण्टामा सीमित गरिएको छ । अहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै आयात भइरहेको छ, जसले गर्दा साँझ ६ बजेपछि उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको दुबेले बताए ।
नेपालको आन्तरिक विद्युत् माग १,९०० मेगावाट रहेकोमा अहिले ५०० मेगावाट बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था छ । परवानीपुर–रक्सौल प्रसारण लाइनबाट आपूर्ति बढाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
“अहिले भारतबाट १५० मेगावाट बिजुली आइरहेको छ, हामीले १८० मेगावाट पुर्याउने प्रयास गरिरहेका छौँ”, प्रमुख दुवेले जानकारी दिए।
लगातारको लोडसेडिङले उत्पादन लागत बढ्नुका साथै औद्योगिक लगानी नै जोखिममा पर्ने भन्दै उद्योगीहरूले सरकार र विद्युत् प्राधिकरणसँग द्रुत समाधानको माग गरिरहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !