काठमाडौ । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा नयाँ गभर्नर छान्न समिति गठन भएको छ । गभर्नर नियुक्तिका लागि सरकारले ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस समिति गठन भएको हो ।
सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख छ । सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।
गभर्नर छनौट समितिमा अर्थमन्त्री अध्यक्ष, पूर्वगभर्नर मध्यबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, वित्तिय क्षेत्र, बाणिज्य कानुनको क्षेत्रमा ज्ञाता व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको एकजना सदस्य रहने व्यवस्था छ ।सोही बमोजिम छनौट समिति गठन भएको हो । अहिलेका गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !