काठमाडौ । १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्टमा परेका छन् । राष्ट्र बैंकको सम्पति तथा सेवा व्यवस्थापन विभागले सर्टलिस्ट गरेको ६ वटा कम्पनीको सुचि सार्वजनिक गरेको छ । भारत र नेपालको संयूक्त लगानीका दुई कम्पनी, भारतको मात्र दुईवटा कम्पनी, बंगलादेश र श्रीलंकाका गरी ६ वटा कमपनी छानिएका हुन ।
सर्टलिस्टमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर , बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजि एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपि नेपाल/भारतको संयुक्तलगानीको जेभी मेहरा जेकेएसएस एसएसबिडिआइ जेभी, भारतको एमएसकेए एण्ड एसोसिएट्स र भारत÷ नेपालको संयुक्त जेभी कम्पनी एसआरबिए एण्ड बिके अग्रवाल एण्ड कम्पनी रहेको छ । राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो। सर्टलिस्टमा परेका कम्पनीले अब प्रस्ताव पेश गर्नुपर्नेछ ।
यसअघि राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपी कम्पनीलाई छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्द गरेको थियो । तर दोस्रो पटक पनि केपीएमजीले आवेदन दिएर सर्टलिस्टमा परेको छ । नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन लागिएको हो ।
ठूलो आकारको व्यवसाय गर्ने तथा अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परीक्षणमा पर्ने बैंक नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयनको लोन पोर्टफोलियो रिभ्यू हुनेछ । त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि विदेशी अडिट फर्मले लेखापरीक्षण गर्नेछ ।
राष्ट्र बैंकले कम्पनी छनोट प्रकृयामा कम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवमा ४० प्रतिशत र क्षमतामा १० प्रतिशत अंक तोकेको छ । छनौट हुने कम्पनीले न्यूनतम ६० अंक प्राप्त गर्नु पर्नेछ र आवेदन दिएकाहरु मध्ये सबैभन्दा धेरै अंक प्राप्त गर्ने कम्पनीले अडिटको जिम्मा पाउनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !