काठमाडौं । प्राथमिक बजारमा फागुन १८ गतेदेखि निष्कासनमा आएको स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) खरीदका लागि पहिलो दिनमै मागभन्दा ३० दशमलव ८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन ४ लाख ७१ हजार ७१८ जना आवेदकहरुले ६० लाख ४६ हजार २० कित्ता एफपीओ खरीद माग गरेका हुन ।
कम्पनीले भने १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको यो एफपीओ छिटो अवधि फागुन २१ गतेसम्म मात्र निष्कासनमा रहनेछ । कम्पनीको एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस कम्पनीले नेपालभरीका तराई तथा पहाडी ३६ जिल्लाहरुमा यस कम्पनीले ९१ शाखा कार्यालयमार्फत १ लाख २९ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको यस कम्पनीको जारी पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ कायम हुनेछ । यस कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्थालाई २०७७ साल असोज २५ गते १०० बराबर ७० को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको थियो । प्राप्ति गरेको संस्था जनपुर लघुवित्तले प्रारम्भिक सार्वजनिक निष्कासन नगरेको अवस्थामा निष्कासन हुन बाँकी शेयर एफपीओमार्फत जारी गर्न लागिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !