काठमाडौ । सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि खुलेको पहिलो कारोबारमा सेयर बजारले २८ सय बिन्दु टेकेको हो । बजार खुल्नेवित्तिकै ह्वात्तै बढेको इन्डेक्स एक मिनेटभित्रमै २८ सय बिन्दु छोएको थिए । ११ बजे बजार खुल्दा इन्डेक्स २७९५.८५ विन्दुमा थियो । त्यसको एक मिनेटमै सुचक २८ सय १५ विन्दुमा पुगेको थियो । बजार तिब्र उतारचढाव पछि अन्तमा २८१५.०४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । यस दिन ११ अर्ब ३९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
गार्डियन माइक्रोलाइफ र हेवा खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार विशेषगरी वाणिज्य बैंक समूहमा वृद्धि भएको छ । यो समूहमा वृद्धि हुँदा समग्र नेप्से सूचकमा आकर्षक बढोत्तरी भएको हो ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक–वित्तीय संस्थाको नाफा वृद्धि हुने गरी व्यवस्था गरिएको छ । असल कर्जाबापत गर्नुपर्ने प्रोभिजन दर घटाइएको छ । नयाँ व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको हो । यसअघि यस्तो दर १.१० प्रतिशत थियो । यस प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढाउन सहयोग पुग्ने भएपछि बैकिङ समुहमा यसको असर देखिएको हो । यस दिन ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा ९६ करोड ४७ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !