काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित रुपमा गर्ने मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको समय निर्धारित समयमा नहुने भएको छ । फागुनको पहिलो साता अर्थात भोलि मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुने भनिए पनि नहुने भएको हो । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार पहिलो साताको शुक्रबार मौद्रिक नीतिको समिक्षा नहुने भएको हो ।
राष्ट्र बैंकका पदाधिकारीहरु बैंकिङ सम्वन्धित विविध अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागी हुनपर्ने र अर्थ सचिव हेरफेर भएकाले पहिलो साता हुने भनिएको मौद्रिक नीतिको समीक्षा धकेलिएको बताइएको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकमा गभर्नरपछि अर्थ सचिव पनि रहने प्रचलन छ ।
अर्थमन्त्रालयमा हालै मात्र अर्थसचिव रामप्रसाद घिमिरेलाई सरुवा गरी सो स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम ओझालाई नियुक्त गरिएको छ । नयाँ अर्थसचिवले आफ्नो कार्यभार र जिम्मेवारी लिन पाएका छैनन् । किनकि यसैबीच अर्थमन्त्री पोखराको एक कार्यक्रममा सहभागी हुन जाँदा बेलुन पड्केर घाइते भएका थिए । यस हिसावले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा फागुन दोस्रो साता ल्याउने तयारी हुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !