काठमाडौं । सरकारले नयाँ खुलेका उद्योगलाई पनि सुपारी, केराउ र मरीचको आयात अनुमति दिने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय लागू गरेको हो।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीचको आयातमा रहेका प्रतिबन्ध हटाइएका जानकारी दिएका छन् ।
यसअघि, तस्करीको समस्या बढेपछि २०७६ चैत २४ मा सरकारले यी वस्तुहरूको आयातमा पूर्ण बन्देज लगाएको थियो। त्यसपछि २०७७ चैत ९ मा पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लागू गरिएको थियो। सोको आधारमा उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरीचको आयात अनुमति दिइएको थियो ।
तर, यसपटक नयाँ उद्योगलाई पनि आयात अनुमति दिने व्यवस्था गरिएको छ। पहिले कम्तीमा पाँच वर्ष पुरानो उद्योगलाई मात्र आयात अनुमति दिइने थियो, अहिले भने नयाँ उद्योगलाई पनि सुविधा मिलेको छ । मन्त्रालयका अधिकारीले पुरानो कार्यविधि खारेज गरि नयाँ नीति लागू गरेको बताएका छन् ।
सुपारी भारतबाट आयात हुने प्रमुख वस्तु हो, र यसका लागि खाद्य अनुज्ञापत्र, उत्पत्तिको प्रमाणपत्र, क्वारेन्टाइन जस्ता कागजातहरू चाहिन्छ । तर, यी प्रक्रियाहरू पुरा गर्न झमेला भएकोले तस्करी बढेको भनाइ छ ।
सुपारीको स्वदेशी उत्पादन सस्तो नहुँदा आयात गर्नुपर्ने बाध्यता रहेको छ । यस आर्थिक वर्षको पहिलो छ महिना ४१ करोड १७ लाखको सुपारी आयात भएको र गत वर्ष १ अर्ब ५ करोड ८४ लाखको सुपारी आयात भएको थियो ।
नयाँ कार्यविधि अनुसार, उद्योग दर्ता प्रमाणपत्र, भ्याट र प्यान दर्ताको प्रमाणपत्र लगायतका कागजात प्रस्तुत गरेर उद्योगहरूले आफ्नो आयात अनुमति प्राप्त गर्नुपर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !