वीरेन्द्रनगर (सुर्खेत)। केही समय पहिला रोजाइमा नपरेको कृषि पेसामा पछिल्लो समय विस्तारै युवा आकर्षित हुन थालेका छन् । विदेश जानुभन्दा स्वेदशमा बसेर जीविकोपार्जन गर्ने उद्देश्यले यहाँका युवा पशुपालन, तरकारीखेतीमा आकर्षित हुन थालेका हुन् ।
“सुरुआत आफैँबाट गरौँ, परिवर्तन सम्भव छ”, भन्ने सोचका साथ वीरेन्द्रनगर–९ लाटीकोइली सुर्खेतका दीपेन्द्र कार्की व्यावसायिक कृषि पेसा थालेको १७ वर्ष भयो । पढेलेखेको युवाले माटो, गोठ, गोबर अनि गाईबस्तु छुन हुन्न भन्ने विचार परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
कार्कीले भने, “पछिल्लो समय कक्षा १२ पढेर सक्नेबित्तिकै विदेश जाने युवाको लर्को लाग्ने गर्छ । तर १४ महिना इजरायलमा बसेपछि विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर स्वदेश फर्किएको हुँ ।”
सन् २०१६ मा इजरायल पुगेका कार्कीले त्यहाँबाट कृषि प्रणाली, पशुपालन, तरकारीखेतीका बारेमा सिकेको सीप अहिले आफ्नै गाई फार्म र तरकारीखेतीमा प्रयोग गर्दै आएको बताए । अहिले उनले कोपिला एग्रिकल्चर एण्ड लाइभस्टक प्रालिको रूपमा आफ्नो फार्म दर्ता गरी २४ वटा गाई पालनसँगै दुई बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । रु ३२ लाखमा व्यक्तिगत लगानीमा उनले गाईपालन र तरकारीखेती सुरु गरेका हुन् ।
कार्कीले अहिले दैनिक रूपमा एक सय १० लिटर दूध बिक्री गर्दै आएको बताउँदै प्रतिलिटर रु ८० मा बिक्री हुने जानकारी दिए । उनले भने, “गाईपालन र तरकारीखेतीबाट प्रशस्त आम्दानी भइरहेको छ, यो पेसाबाट एकदमै सन्तुष्ट छु ।” दुई व्यवसायलाई एकसाथ सञ्चालन गर्न केही गाह्रो भए पनि यी व्यवसाय एक अर्कोका परिपूरक भएका उनको भनाइ छ ।
“सबैभन्दा ठूलो र उपयोगी फाइदा भने टनेलबाट निस्कने घाँसपात गाईबस्तुका लागि र गाईबस्तुका मलको उपयोग तरकारीमा भइरहेको छ”, कार्कीले भने । सोही कारण आफ्नो फार्मलाई प्राङ्गारिक फार्मका रूपमा स्थापना गर्न सकेको उनले उल्लेख गरे।
गाईको गोबरबाट एक वर्षमा ८५ टन प्राङ्गारिक मल उत्पादन गर्ने गरेको उनले बताए । उनले होलसेलमा प्रतिकिलो रु २० र फुटकरमा रु २५ मा मल बिक्रीवितरण गर्दै आएका छन् ।
उनको फार्ममा अहिले तीन जनाले रोजगारी पाएका छन् । कामदारको काम र दक्षता हेरेर रु १० देखि रु २२ हजारसम्म तलब दिने गरेको उनले जानकारी दिए । उनले भने, “एक महिनामा गाईलाई दाना पानी र कर्मचारीलाई तलब दिएर रु ८० हजार बचाउने गरेको छु, महिनामा रु ८० हजार बचत गर्नसके किन जानुप¥यो विदेश ।” कार्कीले अहिले स्थायी प्रकृृतिका १० वटा टनेलमा काउली, बन्दा, टमाटर, बेमौसमी बोडी, सिमी लगाएका छन् ।
वीरेन्द्रनगर–२ दौलतपुर सुर्खेतका गोपालराज सुनारले पनि दुई बिघा जग्गामा तरकारीखेती गर्दै आएका छन् । उनको मुख्य आयआर्जनको स्रोत नै कृषि हो । कुनैबेला विदेशिएका साथीभाइको प्रगति देखेर मन बदल्न खोजेका गोपालले अहिले घरमा बसेर प्रशस्त आम्दानी गरेका छन् ।
“जलवायुमैत्री कृषि कार्य गर्न वीरेन्द्रनगर नगरपालिका, कृषि शाखाबाट आर्थिक अनुदान लिएर स्थायी टनेल बनाएको छु”, गोपालले भने, “अहिले एक सिजनमा रु ६० हजार आम्दानी हुन्छ ।”
उनीसँग अहिले पाँच वटा पक्की टनेल र दुई वटा कच्ची टनेल छन् । जसमा साग, काउली, भ्यान्टा, सिमी, बेमौसमी बोडी, टमाटर र च्याउ लगाएका छन् ।विसं २०७४ देखि तरकारी व्यवसायमा लागि परेका गोपालले थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने बताए ।
गोपालले तरकारीमा हाल्न गड्यौला मल उत्पादन गर्ने गरेको उल्लख गर्दै झोल मल कीरा नियन्त्रणका लागि उत्तम औषधि भएका जानकारी दिए । उनले बजारमा पाइने विभिन्न किटनाशक विषादी तरकारीमा अहिलेसम्म प्रयोग नगरेको बताए ।
गोपालले भने, “विषादी प्रयोग नगरेर तरकारी फलाउँदा बजार खोज्न पनि जानुपर्दैन, घरबाटै बिक्री हुन्छ ।” स्वस्थकर तरकारी उत्पादनले झन बढी आम्दानी दिने र माटोको उर्वराशक्ति कमजोर पनि नहुने उनको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !