काठमाडौं । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएको चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कैची चलाएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकारको डेढ खर्ब रुपैयाँभन्दा बढीले घटाएको छ । शुरु विनियोजनको तुलनामा ९.०१ प्रतिशतले बजेटको आकार घटाएको हो ।
बिहीबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको जनाए ।
तत्कालिन अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । यो ६ महिनाको बजेट खर्चको अवस्थालाई मूल्यांकन गरेर अर्थमन्त्री पौडेलले यसलाई १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारिदिएका हुन् । जस अनुसार अब चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान गरिएको छ । पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान सरकारले गरेको छ । वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९.०९ प्रतिशत हो ।
त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँमात्र हुने अनुमान सरकारले गरेको छ । सरकारले यसबीच राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !