काठमाडौँ । अमेरिकामा तीन दिनको बीचमा शुक्रबार फेरी अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटनामा परेको हो।शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मल नजिक एक प्राइभेट विमान दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए, जसको विवरण अमेरिकाको उड्डयन विभागले दिएको छ। दुर्घटनामा परेपछि लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) को जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ।
विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना सवार थिए।
विमान तीव्र गतिमा खसेर घना आवादी भएको सहरको जमिनमा बजारिएको र त्यहाँ जहाजमा आगो लागेको थियो। केहीबेरमै आगो भीषण रूप लिँदै विस्फोट भएको थियो। दुर्घटनामा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएको छ।
यस अघि गत बुधबार राति मात्रै वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !