जेरुसेलम । गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ ।
इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ ।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।
यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो ।
मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुभन्दा केही दिन अघि सम्झौताको घोषणा गरेका थिए । महिनौंको निरर्थक वार्तापछि यसलाई सुरक्षित गरेको श्रेय राष्ट्रपति ट्रम्पले दाबी गर्दै आएका छन् ।
हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भनेका छन्, “कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले भोलि चार जना महिला सैनिकलाई रिहा गर्ने निर्णय गरेको छ ।”
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !