काठमाडौ । पाल्पा जिल्लाको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु (दायाँवायाँ छेदन गरी जोड्ने) को आज उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु हुने तय भएको थियो । तर उनी अस्वस्थ भएपछि कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी भएका छन् ।
यद्यपि प्रधानमन्त्री ओलीले भर्चुअल रूपमै काठमाडौंबाट उद्घाटन गरेका छन्। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो ।
सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको यसको काम २०८३ सालमा सम्पन्न हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !