काठमाडौ । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीले ६ महिनामा ८१ अर्ब रुपैयाँ भन्दा बढी बिमा शुल्क उठाएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ कोे पहिलो ६ महिनामा नेपालमा सञ्चालन १४ वटा जीवन बिमा तथा ३ लघु बिमा कम्पनीहरुले पुस मसान्तसम्ममा कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ६३ अर्ब ३९ करोड रुपैयाँ नबिरकण गरेबाफतको बिमा शुल्क आर्जन भएको छ । गत मंसिरसम्म जीवन बिमा कम्पनीहरुले कुल ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए ।बीमा प्राधिकरणको तथ्यांक अनुसार ६ महिनामा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बीमा शुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बिमा शुल्क १ अर्ब ४३ करोड ४३ लाख तथा नवीकरणबापत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै, जीवन बीमाको कारोबार गर्ने ३ लघु बिमा कम्पनीहरुले २८ करोड ७ लाख प्रथम बिमा शुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । लघु जीवन बिमकले ६ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा बिमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफले पुससम्ममा सबैभन्दा धेरै १८ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआइसी नेपालले ८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रोमा नेसनल लाइफले ७ अर्ब १५ करोड ५५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले ७ अर्ब ५ करोड ८० लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
हालसम्म १ करोड ४० लाख ४१ हजार ३५३ बिमालेख सक्रिय रहेको प्राधिकरणले जनाएको छ । पुष महिनामा मात्र ६ लाख बढी बिीमालेख जारी भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !