काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल र प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले उक्त बैंकले विगतमा धेरै समस्या झेल्दै अघि बढेको उल्लेख गर्दै अब्बल व्यवस्थापन र कर्मचारीका कारण अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए ।
कृषि विकास बैंकको व्यवस्थापनबारे अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खुलेर प्रशंसा समेत गर्न भ्याए । कृषि विकास बैंक वाणिज्य बैंक भए पनि कृषि कर्जामा यस बैंकले नेतृत्व गरिरहेको गभर्नर अधिकारीको धारणा थियो । बैंकले कृषिमा गरेको लगानी समग्र बैंकिङ क्षेत्रमा ठूलो योगदान गरेको छ भने साना तथा मझौला उद्योगमा पनि बैंकले लगानी बढाउँदै गएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)गोविन्द गुरुङले बैंकले ५ वर्षे व्यावसायीक रणनीती ल्याएको जानकारी दिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइको बैंक’ भन्ने दूरदृष्टिका साथ २०८१ देखि २०८६ सम्मको ५ वर्षे व्यावसायीक योजना बैंकले अघि सारेको उनले बताए ।
गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड खुद नाफा आर्जन गरेको उल्लेख गर्दै सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले नाफा वृद्धि गरेको बताए । खुद नाफाको आधारमा २० वटा बैंकमध्ये कृषि विकास बैंक ७औं नम्बरमा रहेको छ ।
गत आवको मुनाफाबाट बैंकले ७.५३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । धेरै लाभांश वितरण गर्ने वाणिज्य बैंकको चौथो नम्बरमा कृषि विकास बैंक रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !