काठमाडौँ । आउँदो फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले स्थानीय व्यक्ति, समुदाय, संघसंस्था तथा साझेदारहरुसँगको सहकार्यमा महोत्सव आयोजनाका विषयमा स्थानीयसँग प्रतिक्रिया लिएको छ ।
वडाले आयोजना गरेको वृहत छलफल कार्यक्रममा वडाध्यक्ष ईश्वरमान डंगोलले वडामा भएका प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितका मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाले सजिएको वडालाई सद्भावपूर्ण पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । वडाले नेतृत्व लिएर थालेको कामबाट पहिचान र समृद्धिका कोणबाट दिगो लाभ प्राप्त गर्न व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको अपेक्षा गरेको उहाँको भनाई थियो ।
वडाबाट अगाडि सारिएका कामका विषयमा जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘एकै पटक १७ वटा घरको नक्सा स्वीकृत गरेर हाउस पुलिङ् वडाले सम्पन्न गरेको नेपालकै पहिलो परियोजना हो । साझेदारसँगै स्थानीयको सहभागितामा सम्पन्न यस्ता योजनाको सिकाइबाट वडाको समृद्धिमा हाम्रो प्रयास जारी छ ।’
छलफलमा पूर्वमन्त्री जीवनराम श्रेष्ठले, महोत्सवमा आउने व्यक्तिले देखेको, हेरेको र भेटेको वस्तुको फरकपन महसुस गराउनु पर्ने बताउनुभयो । ‘स्टोरी मेकिङ् र स्टोरी टेलिङ् (कथा बनाउनु र भन्नु) पर्यटनका महत्वपूर्ण पक्ष हुन् । यसमा ध्यान दिनुपर्छ ।’
कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनका अनुसार महोत्सवले स्वयम्भूमा क्षेत्रमा रहेका प्राचीन तर आझेलमा परेका स्मारकहरुलाई पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्न टेवा पुग्नेछ । उहाँका अनुसार जीविकोपार्जन तथा क्षमता विकास लागि वडाबाट तालिम लिएका व्यक्ति तथा संघसंस्थाले उत्पादन गरेका कौसी खेतीका तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषा प्रदर्शन गरिनेछ ।
महोत्सव भुइँखेल चौरमा हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।
छलफलमा सहभागी वक्ताहरुले, ठमेलको नजिक भइकन पनि स्वयम्भूको अपेक्षित प्रवर्धन हुन नसकेकोले छुटेको यस पक्षमा काम गर्न, होम स्टे र स्थानीय वस्तुको उत्पादन प्रोत्साहित हुने, आर्थिक गतिविधिमा टेवा पुग्ने, शिक्षा, स्वास्थ्य, खेलकुल, संगीत, गायन, बादन, नृत्यजस्ता सांगीतिक तथा सांस्कृतिक क्रियाकलापमा प्रोत्साहन हुने कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो । उहाँहरुले सामुहिक प्रतिवद्धता जनाउँदै भन्नुभयो, ‘वडाले दिने जिम्मेवारीमा बसेर काम गर्न इच्छुक छौँ । महोत्सवको सफलताका लागि डटेर काम गर्नेछौँ ।’
स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । नेपाल संवतका प्रवर्धक शंखधर साख्वाःले वालुवा उठाउँदा सुन प्राप्त गरेर त्यही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्वपूर्ण स्थान हो । प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा वाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य स्थान हो ।
वडामा मनाइने जात्राहरुमा गुंला मेला, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य हुन् ।
नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ्, गुरुङ्, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !