काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिएका छन् ।
इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय अनुसार आइतबार विहान साढे ८ बजेबाट लागू हुनेछ ।
युद्धविराम सम्झौता लागू हुनु केही घन्टाअघि टेलिभिजनमार्फत् सम्बोधन गर्दै नेतान्याहुले युद्धविराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी दिएका छन् ।
साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्कने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतान्याहुको भनाइ छ ।
नेतान्याहुले हमाससँगको विगत १५ महिनामा भएको युद्धमा इजरायलको सैन्य अभियानले सफलता हासिल गरेको विवरण समेत पेस गरे ।
नेपालद्वारा युद्धविराम सम्झौताको स्वागत
नेपाल सरकारले इजरायल र हमासबिच भएको युद्धविराम र बन्दी छाड्ने सम्झौताको स्वागत गरेको छ । नेपाल सरकारले इजरायल–गाजाबिच सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धका घटना निरन्तर नियालिरहेको जनाउँदै हालै भएको अस्थायी युद्धविरामको स्वागत गरेको हो । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, “युद्धविरामले गाजाका आमनागरिकलाई मानवीय सहायता निर्वाध सुनिश्चित गर्न र यस घटनाले शान्ति र स्थिरताको मार्गतर्फ सम्बन्धित पक्षहरूलाई अग्रसर गराउने हामी आशा गर्दछौँ ।”
नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीलगायत हमास समूहले बन्धक बनाएका सबैलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको समेत वक्तव्यमार्फत प्रस्ट पारिएको छ । साथै युद्धरत पक्षहरूलाई सहमतिमा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षको प्रयासप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !