काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
समयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ । हामी करिब १० अर्ब नाफामा छौंझ, उनले भने ।त्यस्तै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए ।
भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।’
ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको उनले दाबी गरे । केही नयाँ कामको पनि थालनी गरिएको समेत उनले जानकारी दिए ।
‘सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्य कार्य शुरू गरिएको छ । एलपीजीको घरायसी र व्यापारिक फरक मूल्य कायम गर्ने कार्य सुरू गरिएको छ, ‘ भट्टले भने ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !