एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।
महाअभियोग लगाएर निलम्बन गरिएका राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको थियो र उनलाई राष्ट्रपति पदबाट हटाइयो।
युनको मार्शल ल लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनपटक बोलाइए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।
वारेन्ट मार्फत अदालतले युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ। आइतबार राती अनुसन्धानकर्ताहरूले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए।
मार्शल लको घोषणापछि दक्षिण कोरिया हाल राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारीलाई महाभियोगमार्फत हटाइएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !