काठमाडौ । विदेशबाट फर्किएकाहरुको लगानीमा पब्लिक लिमिटेड कम्पनी खुल्ने भएको छ । विदेशबाट फर्किएकाहरुको साझा संस्था ‘रिटर्नी फेडेरेसन’ नेपालले सोमबार एक कार्यक्रम गर्दै पब्लिक लिमिटेड कम्पनी खोल्ने घोषणा गरेको हो । कम्पनीको नाम ‘सहयोगी पब्लिक इन्भेष्टमेन्ट कम्पनी’ रहेको छ । उक्त कम्पनीले सामुहिक उद्यमशीलताका लागि काम गर्ने बताइएको छ । रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले समृद्धिका लागि उद्धमशिलता विकास अपरिहार्य रहेकाले रिटर्नीहरुलाई व्यवस्थापनका लागि यो अवधारणा अघि सारिएको बताए ।
स्वदेश तथा विदेशमा रहेका नेपाली लगानीकर्ताको पब्लिक इन्भेस्टमेन्ट कम्पनी ‘सहयोगी इन्भेष्टमेन्ट कम्पनी’को अध्यक्ष घनश्याम पाण्डे रहेका छन् । पाण्डेका अनुसार भोलिका दिनमा विदेशमा बस्ने नेपालीहरुले समेत स्वदेश फर्किँदा आशाको सञ्चार हुनेगरी अघि सारिएको यो कम्पनीमा ५ वर्ष भित्र २५ अर्वको पूँजी परिचालन गर्न सहयोगि हुने गरी कम्पनी खडा गरिएको छ । कम्पनीमा एकवर्ष भित्र पुँजी ३६ करोड रुपैयाँ संकलन हुनेछ । पहिलो वर्षमा ५० जनाबाट २० लाखका दरले उठाउँदा १० करोड रुपैयाँ हुनेछ । १०० जनाबाट १० लाखको दरले उठाउँदा अर्को १० करोड रुपैयाँ थपिनेछ । १५० जनाले ५ लाखका दरले उक्त कम्पनीमा लगानी गर्नेछन् भने ३०० जनाले १ देखि ५ लाखसम्म लगानी गर्नेछन् । १ हजार जनाले १० हजार देखि १ लाख रुपैयाँसम्म लगानी गर्ने बताइएको छ । यसो हुँदा एक वर्षमा १६ सय रिटर्नीले ३६ करोड रुपैयाँ लगानी गर्नेछन् । कम्पनी सञ्चालनको दोस्रो बर्ष पब्लिक कम्पनीको पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । तेस्रो वर्षमा ५ अर्ब र ५ वर्षसम्ममा २५ अर्बको पुँजी संकलनको लक्ष्य लिइएको छ ।
लगानीकर्ताहरुको लगानी पारदर्शी र सबैले बुझ्न सकिने बनाइनेछ । कम्पनीमा भएका लगानी रकमलाई बढीभन्दा बढी कृषिमा लगानी गर्ने योजना रहेको छ । लगानीलाई कसरी पूर्ण सदुपयोग गर्ने भनेर विविध मोडलहरु समेत प्रस्ताव गरिएको छ जसमध्ये सबै उत्पादनहरु एउटै ब्राण्डमा निर्माण गर्ने,एप निर्माण गरी अनलाइन बजारीकरणमा जाने,प्रोजेक्ट शेयर अर्थात सञ्चालन भैरहेको कम्पनीको सेयर खरिद रिने,नयाँ कम्पनीहरु स्थापना गर्ने,निश्चित मुनाफाको सर्त सहितको लगानी गर्ने,आन्तरिक ऋण प्रवाह गर्ने,सेयर खरिद बिक्री गर्ने आदी रहेका छन् ।
घनश्याम पाण्डे अध्यक्ष रहेको कम्पनीमा सदस्यहरु डा. शालिकग्राम बसेल, डा. मोहमद एकबाल, शुभेक्षा मेयाङ्बो, राजन प्रसाद श्रेष्ठ, जेपी सापकोटा, एकराज सापकोटा र सन्तोष दाहाल रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !