काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्दा बीमा प्राधिकरणको अनुमति लिनु नपर्ने व्यवस्था लागू गर्ने भएको छ । नियामक निकाय बीमा प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा लगानी गर्न भने कडाई गरेको छ। बीमा प्राधिकरणले ‘बीमकको स्थिर सम्पत्ति सम्बन्धी निर्देशन २०८१’ तयार पार्दै यस्तो व्यवस्था गरेको छ । प्राधिकरणले जीवन, निर्जीवन, लघु तथा पुनर्बीमकहरूको लागि तयार पारेको स्थिर सम्पत्ति खरिद निर्देशन मस्यौदा सार्वजनिक गर्दे राय सुझाव माग गरेको छ । बीमकले घर जग्गा खरिद, निर्माण गर्नुपूर्व प्राधिकरणबाट सैद्धान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ ।
घर निर्माण गर्दा बीमकले हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य र खरिद गर्न स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल गणना गरिएको नेट वर्थको ३० प्रतिशतको सीमा भित्र रहनुपर्नेछ । नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्नेछ । स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य गणना गर्दा कुनै पनि स्थिर सम्पत्तिको पुनर्मूल्याङ्कन गरिएको भएमा रिभ्यालुएसन सरप्लस बराबरको रकम स्थिर सम्पत्तिको खुद मूल्यबाट हटाउनु पर्नेछ ।
नेट वर्थको दुई प्रतिशतभन्दा कम निर्माण लागत हुन गएमा प्राधिकरणको स्वीकृति लिनुपर्ने छैन । घरजग्गा बाहेकका अन्य स्थिर सम्पत्ति खरिद, निर्माण गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने छैन । बीमकले घर जग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा उक्त खरिद निर्माणको प्रयोग खुलाउनु पर्नेछ । कार्यालय प्रयोजन, व्यावसायिक प्रयोजन, कार्यालय तथा व्यावसायिक प्रयोजन लागि खरिद गर्न लागिएको विवरण खुलाउनु पर्नेछ । बीमकको घर जग्गा खरिद कार्यालय प्रयोजन र कार्यालय तथा व्यावसायिक प्रयोजन दुवैका लागि निर्देशनको व्यवस्था बमोजिम स्वीकृति प्रदान गरिनेछ ।
कार्यालय तथा कार्यालय तथा व्यावसायिक प्रयोजन दुवैका लागि घर जग्गा खरिद, निर्माण स्वीकृति माग भएमा कार्यालय प्रयोजनको लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र प्रशित खुलाई प्राधिकरण समक्ष निवेदन पेश गर्नुपर्नेछ । बीमकको घर जग्गा खरिद, निर्माण व्यावसायिक प्रयोजनको लागि मात्र भए बीमकको लगानी निर्देशन बमोजिम स्वीकृति प्रदान गरिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !