काठमाडौ । बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै सेयर लगानीकर्तामा अब उक्त बैंकको सेयरमा गरेको लगानी के हुन्छ भन्दै चासो र चिन्ता देखिएको छ । केन्द्रिय बैंकले नियामक नेपाल धितोपत्र बोर्डलाई सेयर कारोबार रोक्का राख्न पत्र पठाएपछि सेबोनले पनि नेपाल स्टक एक्सचेन्जलाई सेयर कारोबार रोक्का राख्न भनिसकेको छ ।
आजैबाट यस बैंकको सम्पूर्ण सेयर कारोबार रोक्का भएको छ । कुनैपनि लगानीकर्ताले सेयर खरिदबिक्रि गर्न पाउँने छैनन् । यसकारण उनीहरुले सेयरमा गरेको लगानी फ्रिज भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सेयर कारोबार रोक्का हुने भएकाले लगानीकर्ताको लगानी फ्रिज हुनेछ । यदि केन्द्रिय बैंकले समस्याग्रस्तबाट मुक्त बनाएपछि पुन कारोबार हुन पनि सक्ने पराजुलीको बुझाइ छ ।
यता, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखरेलले केन्द्रिय बैंकले आजैबाट काम शुरु गरेको बताएका छन् । कर्णाली डेभलपमेन्ट बैंक खुला राखेर काम भइरहेको छ । अब के कति सम्पत्ति छ, भित्रि अवस्था कस्तो छ सो विषय हेरेर निक्षेप फिर्ता लिन चाहने निक्षेपकर्तालाई भएसम्म विस्तारै फिर्ता गर्दै जाने पोखरेलले भने । केन्द्रिय बैंकको पहिलो प्राथमिकता नै निक्षेपकर्ता भएकाले उनीहरुको निक्षेप फिर्ता हुनेगरी व्यवस्थापन गर्ने पोखरेलले बताए ।
बैंकमा अहिले समस्या भनेको तरलता कै हो । अब तत्काल तरल बनाउँन सक्ने सम्पत्तिलाई तरल बनाउँने काम हुने बताउँदै पोखरेलले भन्छन, ‘निक्षेपकर्ताको निक्षेप फिर्ता नभएसम्म अरुको काम नहुने भएकाले सेयरधनीहरुको लगानी अब होल्ड हुन्छ । बैंकलाई केन्द्रिय बैंकले सुधार गरेपछि पुनः सेयर कारोबार खुल्न सक्छ ।’नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी आजैबाट व्यवस्थापन नियन्त्रणमा लिएको छ । बैंकको व्यवस्थापन समूहको संयोजकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप निर्देशक टीकाराम खतिवडा, वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकेको छ । खतिवडाको व्यवस्थापन समूहले आजैबाट जिम्मेवारी सम्हालेर काम शुरु गरेको हो ।
यसअघि केन्द्रिय बैंकले यस बैंकलाई शिघ्र सुधारात्मक कारबाही गरिएको भन्दै सुचना जारी गर्दा यसको सेयर मूल्य अस्वभाविक बृद्धि भएको थियो । सो विषयमा सेवोनले नेप्सेसँग कारोबारको विवरण समेत मागेको थियो । कर्णाली डेभलपमेन्टको बुधबार सेयर मूल्य प्रतिकित्ता ८ सय १० रुपैयाँ पुगेर बन्द भएको थियो ।
यस बैंकको ५० लाख २८ हजार ३ सय कित्ता सेयर दोस्रो बजारमा सुचिकृत छ । यसमध्ये ५१ प्रतिशत संस्थापक सेयर हो भने ४९ प्रतिशत पब्लिक सेयर हो । २४ लाख ६३ हजार ८ सय ६७ कित्ता सेयर पब्लिक सेयर हो । गत मंसिर १० गते कर्णाली डेभलपमेन्ट बैंकको सेयर ५२ हप्ताकै सबैभन्दा उच्च मूल्य ८७० रुपैयाँ प्रतिकित्ता पुगेको थियो ।
अब नयाँ व्यवस्थापनले समस्याग्रस्त संस्थाको स्थलगत निरीक्षण, विशेष निरीक्षण वा गैर स्थलगत सुपरिवेक्षण गरी बर्तमान अवस्थाको जानकारी लिन तथा व्यवस्थापनबाट कर्जा असूली र निक्षेप भुक्तानी सम्बन्धमा तयार गरिएको कार्ययोजना माग गरी बिवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !