काठमाडौँ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित युवा कविता उत्सव २०८१ मा कास्कीका संगम संयोग प्रथम भएका छन् । उनी ‘सावधान’ कविताका लागि ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्रले सम्मानित भएका हुन् ।
यस्तै कास्कीका कवि सुदर्शन पौडेलले ‘घर नफर्किएको छोराको सम्झनामा’ कविताका लागि ३० हजार राशिको द्वितीय पुरस्कार प्राप्त गरे।
उदयपुरका कवि सुमी पोखरेलले ‘समयदर्शक यन्त्रको पर्दा नियाल्दा’ कविताका लागि २० हजार राशिको तृतीय पुरस्कार प्राप्त गरे । बझाङका कवि महेश कठायतले ‘देश’ कविताका लागि रु। १० हजार राशिसहित पुरस्कृत भए ।
पहिलो चरणमा कूल २सय २३ कवितामध्ये उत्कृष्ट २० कविता छनोट गरिएको थियो । सोमध्ये ४ कविहरू पुरस्कृत भएका हुन् ।
कवित्रय भीष्म उप्रेती, आरएन डङ्गोल र टिका आत्रेयले निर्णायकको भूमिकामा रहेका थिए । युवा परिषद बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेलकूद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्य रह्यो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, बुढ्यौली समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललगायतले मन्तव्य राखेका थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !