काठमाडौ । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा मंसिर मसान्तसम्ममा कुल ऋण सेवा खर्च २.९९ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
मंसिर मसान्तसम्म सरकारले वार्षिक बजेट विनियोजनको ४२.३५ प्रतिशत रकम ऋण तिर्न खर्च गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ । मंसिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनासम्म आइपुग्दा सरकार करिब २५ खर्ब ऋणमा रहेको छ । सार्वजनिक अण व्यवस्थापनको कार्यालयका अनुसार सरकार २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ ऋणमा छ । यो भनेको नेपालको कुल गार्हस्थ उत्पादनको ४३.६९ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालनको लक्ष्य लिएको छ । मंसिरमसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । यो भनेको बार्षिक लक्ष्यको तुलनामा ३५.१५ प्रतिशत हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !