काठमाडौ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरेर कमाएको पैसा लिएर श्रीमती अर्कैसँग विवाह गरेको खबरहरुको चर्चा चलिरहेको छ । तर एउटा अध्ययनले त्यस्ता खबरहरु शतप्रतिशत सही नभएको बताएको छ । बरु श्रीमती भन्दा बढी पुरुषहरुले नै दोस्रो विवाह गर्ने गरेको पाइएको छ । नेपालको वैदेशिक श्रम आप्रवासन : वर्तमान र फर्केका आप्रवासीहरुको विशेषता नामक प्रतिवेदनले साढे २ प्रतिशत पुरुष श्रमिकहरुले दोस्रो विहे गरेको देखाएको हो । उक्त अध्ययनले वैदेशिक श्रममा गएका ०.४ प्रतिशत महिलाले मात्र दोस्रो विवाह गर्ने गरेको देखाएको छ । तर ९७ प्रतिशतले भने दोस्रो विवाह गरेका छैनन । यस आधारमा पनि वैदेशिक रोजगारमा गएकाहरुको श्रीमान तथा श्रीमतीले निकै कम मात्र दोस्रो विहे गर्ने गरेको देखिन्छ ।
यस्तै वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्स अधिकांश ऋण तिर्न मै खर्च हुने गरेको छ । ४ प्रतिशत रेमिट्यान्स मात्र उत्पादनशिल क्षेत्रमा प्रयोग भएको पाइएको छ । वैदेशिक रोजगारमा गएका १७ प्रतिशत श्रमिकका बच्चाहरु नीजि विद्यालयमा पढ्ने गरेको प्रतिवेदनमा उल्लेख छ । विदेशबाट पठाएको ६५ प्रतिशत रेमिट्यान्स घरखर्च मै सकिने गरेको छ । २० प्रतिशतले भने घरजग्गा खरिदमा रेमिट्यान्स प्रयोग गरेको देखिन्छ । वैदेशिक रोजगारीबाट श्रम स्विकृति सकिएकै कारण अधिकांश फर्किएको देखिन्छ । फर्किएकाहरु मध्य पनि १० प्रतिशतले मात्र रोजगारी पाएको तथ्यांक छ । २८ प्रतिशतले भने कृषि पेशा गरेको देखिन्छ ।
अन्र्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा वैदेशिक रोजगार बोर्डको सचिवालयले आज एक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा श्रमिकको अवस्था बारे जानकारी गराइएको थियो । अन्र्तरािष्ट्रय आप्रवासन संगठन (आइएलओ) द्धारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार हाल विश्वभरी २८ करोड १० लाख मानिसहरु आप्रवासीको रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या भने १६ करोड ९ लाख रहेको छ ।
अन्र्तराष्ट्रिय आप्रवासी दिवस हरेक वर्षको डिसेम्बर १८ मा मनाइन्छ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्विकृति लिएर ८० हजार १७२ महिला सहित ७ लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारमा गएका छन् । उनीहरुले पठाएको रेमिट्यान्सले घरपरिवार, मानवीय सम्पत्तिको सुचकांक र गरिबीमा रहेका परिवारको आर्थिक जोखिम कम गर्न सहयोग पुगेको छ । विश्व बैंकको अक्टोबर २०२४ को प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्रमा रेमट्यिान्सको एक चौथाइभन्दा बढी हिस्सा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !