काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै पनि उपभोक्ताले आफू बजारमा ठगिएको महशुस भए तुरुन्त विभागको टोल फ्री नम्वर ११३७मा फोन गर्न आग्रह गरेको छ । कृत्रिम अभाव, अनावश्यक मूल्य वृद्धि या म्याद गुज्रेको सामान विक्रेताले बिक्री गरेर आफू ठगिएको महशुस हुने वित्तीकै विभागको उक्त नम्वरमा फोन गरी उजुरी दिन विभागले सुझाव दिएको हो । विभागले कुनै पनि उपभोक्ताले उक्त नम्वरमा उजुरी दिएपछि विभागबाट खटिएका गुनासो सुनुवाईका कर्मचारीहरुले फोन रिसिभ गरेर उजुरी लिने व्यवस्था गरिएको विभागका प्रवक्ता डिक बहादुर कार्कीले जानकारी दिए ।
‘यतिखेर बजारबाट धमाधम उजुरीहरु आइरहेका छन्, कतिपय हेलो सरकार र कतिपय उपभोक्ता हित अधिकारकर्मीबाट उजुरी आउने गरेका छन् । हामीले पालै पालो उजुरीमाथि चासो दिएर व्यवसायी तथा बस्तुमाथि छानबीन गर्ने र परिआए कारबाही अघि बढाउने गरेका छौँ ।’ प्रवक्ता कार्कीले भने ।
कार्कीका अनुसार यतिखेर वाणिज्य विभागमा दैनिक २सय भन्दा बढी बजारबाट फोनमार्फत उपभोक्ताको उजुरी आउने गरेको छ । त्यसैगरी विभागले कन्ज्युमर प्रोटेक्सन राइट म्यानेजमेन्ट इन्फर्मेशन (सिपीआरएमआई) सिस्टमबाट पनि उपभोक्ताले इमेल गरी आफ्ना समस्या सुनाउन सक्ने व्यवस्था गरेको छ । बजार अनुगमनका क्रममा विभागले फोन मार्फत आएका यस्ता उजुरीहरुलाई फर्छ्यौट गर्ने गरेको छ । धेरै जसो उजुरी बस्तुको एमआरपी मूल्य, गुणस्तरलाई लिएर आउने गरेको प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !