काठमाडौं । विश्व क्रिकेटका हस्ती क्रिकेटर ब्रायन लारा आज शुक्रबार नेपाल आउँदै छन्। नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजका महान क्रिकेटर लारा शुक्रबार बिहान नेपाल आउने जानकारी दिएका छन्। क्यानका अनुसार लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० मा सहभागी हुन नेपाल आउन लागेका हुन्। वेस्ट इन्डिजका क्रिकेट लिजेन्ड लारा नेपाल आउने जानकारी क्यानका सचिव पारस खड्काले गत मंगलबार सामाजिक सञ्जालमार्फत दिएका थिए।
क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन्। टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ। उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन्। उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए। उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए। उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए।
सन् १९९० देखि २००७ सम्मको समयलाई लारा युग मानिन्छ। यस अवधिमा उनले थुप्रै कीर्तिमानसँगै ऐतिहासिक सफलता पनि हासिल गरेका थिए। उनले वेस्ट इन्डिजबाट १ सय ३१ टेस्टमा ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९ सय ५३ रन बनाएका छन्। यस्तै २ सय ९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतकको मद्दतमा १० हजार चार सय पाँच रन बनाएका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !