काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सोचेअनुरुप सुधार ल्याउन नसकेको प्रति असन्तुष्टि जनाएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले आफ्ना कमजोरी स्वीकार गरेका हुन् ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको उनले बताए । उनले अर्थतन्त्रमा समस्या भए पनि पछिल्लो समय सुधार हुँदै गएको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको दाबी समेत गरेका छन् ।
लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारका लागि केही समय लाग्ने उनको भनाइ छ । विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउँदै उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गरे । तर उनको दाबीजस्तो शेयर बजार भने बढ्न सकिरहेको छैन ।
अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गरेका छन् । उनले सेयर बजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताए । धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको भन्दै बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताएका हुन् ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरु नै नियमनकारी निकायमा हुँदा पनि अर्थतन्त्र सुधारमा भनेजस्तो नतिजा आउन नसकेको बताएका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण र धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयमा नेकपा एमाले र प्रधानमन्त्री केपी ओली निकटकै व्यक्तिहरु रहेको तर्फ उनले संकेत गरेका हुन् ।
पुनले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, विमा क्षेत्रमा आफू अनकुलमा व्यक्तिहरु हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाए । उनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको समेत बताए । लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !