काठमाडौँ। पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको छ। बुद्ध एयरमार्फत लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइएको हो ।
लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि लगिएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो ।
जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिनेछ । आउँदो आइतबार वा सोमबारसम्म बयान सकेर मङ्गलबार कास्की फर्काउने तयारी छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !