काठमाडौ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । उर्जामन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले तत्काल उद्योगमा विजुलीको लाइन नकाट्ने निर्णय गरेको प्राधिकरण स्रोतले बताएको छ । हिजो मात्र (मंगलबार) विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन प्राधिकरणलाई दिएको थियो ।
यस अघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिदैछ । यता विद्युत महसुलको बक्यौता रकम प्राविधिक तथा प्रशासनिक हिसाबले आवश्यक जाँच गरी टिओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न गठन भएको समितिले पनि काम थलिसकेको छ । समितिको संयोजकत्वमा प्रा.डा अरविन्द कुमार मिश्र रहेका छन् । समितिले यही मंसिर ९ गतेदेखि अध्ययन थालेको हो । समितिले जल तथा मौसम विज्ञान विभागको बबरमहलस्थित कार्यालयमा सम्पर्क कार्यालय राखेर काम थालेको छ । सो समितिको प्रतिवेदनको आधारमा मात्र अन्य निर्णयहरु गरिने बताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !