काठमाडौँ। नेप्से परिसूचक लगातार दोस्रो दिन दोहोरो अंकको बढेको छ । मंगलबार नेप्से परिसूचक ३३.४१ विन्दुले बढेर २७१६.६६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२४ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ उपसमूहका परिसूचक नै बढेका छन् । मंगलबार सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर रह्यो जसको परिसूचक १.९७ प्रतिशतले बढेको छ । त्यस्तै सबै भन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.२३ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै मङ्गलबार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ७२ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार पाँच सय ७२ पटकको कारोबारमा ७ अर्ब ४४ करोड बराबरको किनबेच भएको छ । जसमा २११ कम्पनीका शेयर बढेका छन् भने ३२ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, एक कम्पनीको शेयर भने स्थिर रहेको छ ।
यस दिन सर्वाधिक बढ्नेमा सपोर्ट लघुवित्त, युनाइटेड इदी मार्दी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावर रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स रह्यो जसको ४५ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रह्यो जसको छ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !