काठमाडौं । बिहीबार नेप्से सूचक १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा आएको छ । १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहको सूचक बढेको छ ।
मंगलबार र बुधबार २ दिन लगातार घटेपछि तेस्रो दिन बिहीबार बजार बढेको हो । सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । सामान्यतयः सूचक र कारोबार दुवै वृद्धि हुनुलाई सकारात्मक मानिन्छ । अब क्रमशः कारोबार रकम बढ्दै गयो भने त्यसले आगामी दिनमा बजार नयाँ उचाईमा जान सहयोग पुग्नेछ ।
कारोबार बढ्दै जाँदा बजारमा लगानीकर्ताहरु थपिंदै गएको अनुमान लगाउन सकिन्छ । कारोबारका साथमा सूचकको पनि वृद्धिले बजारमा माग पक्ष थप बलियो बनेको विश्लेषण गर्न सजिलो हुन्छ । यद्यपि, बजार माथि जाँदा पनि पटकपटक साना–ठूला करेक्सनको भने सामना गर्नैपर्ने हुन्छ ।
पछिल्ला दिनहरुमा केही करेक्सनका बाबजुत पनि नेप्सेले क्रमशः माथितिरकै रेखाहरु कोर्दै गएको देखिन्छ । ३ हजार पुगेपछि २४ सयको लेबलसम्म झरेको नेप्से फेरि सुस्तसुस्त ढंगले माथितिर लागिरहेको छ । अहिले नेप्से २७ सयको लेबलमा आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !