काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर १४ गते छैठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुढानिलकण्ठ, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ ।
हाल कायम चुक्तापूँजी ८५ करोड रुपैयाँको २९ दशमलव ५६ प्रतिशतले हुन आउने हकप्रद शेयर साविकका शेयरधनीहरुलाई निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । हकप्रद शेयर र आईपीओ निष्कासन गर्ने कामको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने प्रस्ताव सभाका लागि तय भएकोले त्यसका लागि समेत सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गर्नेछ ।
साथै गत आर्थिक वर्ष ८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !