काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अर्को मुद्दामा पनि थप अनुसन्धान गर्नुपर्ने भएकोले २५ दिन हिरासत म्याद थप गर्न अदालत समक्ष माग गरिएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धान सकिएपनि संगठित अपराध सम्बन्धी अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला अदालत समक्ष कास्की प्रहरीले उक्त माग गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो।
यसबारे लामिछानेको म्याद थपबारेको बहस केहिबेर अघि सकिएको छ । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन ।
मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो । तर रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गर्दै रिहा गर्न माग गरेका हुन् ।
तर सरकारको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेको अदालत स्रोतले जनाएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !