काठमाडौँ । कुनै बेला चेकिङका नाममा घण्टौँ लाइन बसेर यात्रुहरुले सास्ती खेप्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकोे अध्यागमन कार्यालयको सेवा यतिखेर छिटो छरितो र झन्झटमुक्त बनेको छ । अहिले त्रिभुवन विमानस्थलमा कागजातमा कुनै गडबडी नभएमा चेकजाँचका लागि बढीमा ५देखि १० मिनेट भित्रै सकिने अवस्था छ । यसको श्रेय जान्छ नि:वर्तमान अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलालाई । २०८० साल चैत ७ गते विभागमा हाँजिर हुन पुगेका कोषहरी निरौला विमानस्थलमा हुने सुस्तता र यात्रुले पाउने झन्झटबारे गरिने गुनासोले कसरी सेवा चुस्तदुरुस्त बनाउने भन्नेमा मात्र केन्द्रित रहे । निरौलाले भद्रगोल जस्तो रहेको अध्यागमनको काम जापानिज काइचिन मोडल अर्थात सानासाना कामहरु जहाँ जे सकिन्छ त्यहिबाट शुरु गर्ने ढंगमा काम गरे । दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशीहरुको आरपार भइरहने विमानस्थलमा भीड व्यवस्थापन निकै चुनौतिको विषय पनि थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रविधीदेखि फिल्डका कर्मचारीसम्मको स्वरुपमा सुधार गरी थिती बसालेर हिँडेका निःवर्तमान महानिर्देशक कोशहरि निरौलाको कार्यकाल कस्तो रह्यो ? प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश –
७ महिना अध्यागमन विभागको प्रमुखको हैसियतमा रहेर काम गर्दाको अनुभव कस्तो रह्यो ?
म अध्यागमन विभागमा हाजिर हुन पुग्दाको समयमा विभागका १५ वटा कार्यालय मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा लामो लामो लाइन यात्रुहरुले घण्टौँ बस्न पर्ने अवस्था थियो । कर्मचारी पनि निकै कम थिए । मैले पहिलो फोकस विमानस्थलमै राखेँ र प्रविधिलाई सुभार गर्न तिर लागेँ । कार्यालयमा जडित कम्प्युटर, क्यामरा, बायोमेट्रिकमा प्रयोग हुने फिंगरप्रिन्ट गर्ने मेशिन लगायत सबै बिस्थापित गर्ने काम गरेँ । क्यूएस मेशिन जसले विदेशीका पासपोर्ट तुरुन्तै प्रिन्ट गर्ने काम गर्छ, त्यो मेशिन जडान गरियो ।अर्को नेटवर्कको समस्या थियो नेटवर्क घण्टौँ नआएर सिस्टम डाउन हुने अवस्था थियो । त्यसलाई समाधान गर्न ‘डार्ककोर फाइबर’ नामक सिस्टम जडान गरियो । त्यसपछि नेटवर्क जाँदा पनि काम रोकिने अवस्था भएन । कतिपय अवस्थामा मानवीय कुरा पनि समाधान गर्यौँ । तालिम, अभिमुखीकरणको काम भाषागत समस्या पनि सुधार गरेका छौँ । अटोमेशनको कामहरु भएका छन् । कुनै व्यक्ति भिसा लिन जहाँ गएपनि सिस्टम इन्टिग्रेटेड गरेर काम छिटो छरितो एकैछिनमा हुने बनाइएको छ ।
विमानस्थल अध्यागमन कार्यालय र प्रहरीबीच किन बेला बेला द्वन्द चर्किरहन्छ, यसले कर्मचारीलाई हतोत्साहित गरेको त छैन ?
विवाद मनमुटाब हुनु पक्कै राम्रो होइन, त्यसमा पनि मैले प्रहरीको नेतृत्व र अध्यागमनका कर्मचारीलाई एक ठाउँमा बसेर छलफल गरेको छु । कसैको पनि स्वार्थ र मै हुँ भन्ने भाव नझल्कियोस् भनेर बेलाबेला वरियन्टेसन गराउने काम गरेको थिए । त्यसले थोरै भएपनि सुधार गरेको छ , पछिल्ले समय द्वन्द भएको पाएका छैनौँ । यसमा कहिँ न कतै अध्यागमनको पनि कमजोरी छ,अनुभव बिनाका कर्मचारी सरुवा भएर आउने बित्तिकै फिल्डमा खटाइन्छ त्यसले व्यवहारगत कठिनाई उत्पन्न हुन्छ । अध्यागमन भनेको देशको पहिलो मुहार हो । अध्यागमनमा खटिने जोसुकै कर्मचारी मुहार र मन देखिने सहयोगी हुनपर्छ । कर्मचारीमा अझैपनि शिपको खाँचो छ । एअरपोर्ट जान खोज्ने तर भाषा नआउने हुँदा समस्या छ ।देखिने गरेको छ । यद्यपि मेरो कार्यकालमा दुवै तर्फका कर्मचारीबीच सुमधुरता कायम गर्ने प्रयास गरिरहेँ ।
अध्यागमन कार्यालयलाई पहुँचको भरमा कर्मचारी खटाउने आकर्षणको केन्द्रबिन्दुका रुपमा किन लिइन्छ ?
म अध्यागमन विभागको प्रमुख भएर गएपछि दोहोर्याएर कर्मचारी नखटाउने नियम अपवादमा बाहेक जोडतोडका साथ लागू गरेँ । भनसुनका आधारमा नभई मेरिटोक्रेसीका आधारमा ३/ ४ वर्ष गृहमन्त्रालय या अन्य निकायमा काम गरिसकेकाहरुलाई मात्र आवश्यकता र दक्षताको आधारमा विमानस्थल अध्यागमन कार्यालय पठाउने सिस्टम बसालेको छु । कर्मचारीलाई ससाना कुरामा प्यानलाइज गरेर मनोबल घटाउन हुँदैन भन्नेमा म विश्वास राख्छु । तर कतिपय अवस्थामा कारबाही स्वरुप गलत काम गर्ने इन्जिनयरहरुलाई सरुवा गरेको पनि अवस्था रह्यो मेरो कार्यकालमा ।
भिजिट भिसामा विदेशिने क्रम किन रोक्न सकिएन ?
होइन, प्रकृया पुरा गरेर आएकाहरुलाई दिने कि नदिने भन्ने कुरा पनि हुन्छ । भिजिट भिसामा गएर मानब तस्करको फेला कोही नपरुन् भन्नेमा अध्यागम विभाग चनाखो छ । श्रमको इस्युले पनि अप्ठेरो बनाउने गरेको छ । घरेलु कामदारका रुपमा महिला कामदार जान केही मुलुकमा रोकिएको छ । घरबाट निस्किएर आफू सक्षम हुन्छु भन्नेलाई राज्यले प्रोत्साहन गर्ने कि अवरोध गर्ने भन्ने पनि कुरा रहन्छ । मेरो कार्यकालमा गलत तवरबाट गएका ३ हजार जनालाई फिर्ता गरियो तर विदेश हिँड्छु भनेको मान्छे केही गरेर पनि रोक्न सकिँदैन रैछ । अनेक बाटोबाट पुग्नेनै रैछन् ।
अध्यागमन ऐन संशोधनको कुरा कहाँ पुगेको छ ?
अध्यागमन ऐन २०४९ सालमा बनेको ऐन हो। ३२ वर्ष पुरानो ऐन त्यस बेला उपयुक्त थियो होला अहिलेको मुभमेन्ट अनुसार सुहाउँदो छैन । यतिखेर नेपाली डायस्पोरा सन्सार भरी छरिएका छन् । चुनौति थपिएको छ त्यसकारण बदलिँदो परिस्थीती अनुसार ऐन आउन पर्छ। अध्यागमनको इस्यु संसार भरकै चर्चित इस्यु हो। युरोप अमेरिकामा त सरकार फेरबदल परिवर्तित हुनेसम्मको अवस्था रहन्छ । अध्यागमन ऐन एकपटक संसदको माथिल्लो सभामा पेश भएर फेरी फर्किएर आएको छ । अब त्यसलाई अन्तिम रुप दिन मात्र बाँकी छ । त्यती गरेर मन्त्रालयमा पठाउने तयारी गरेको थिएँ मैले।
नयाँ कुरा के भए विमानस्थल अध्यागमन कार्यालयमा ?
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रविधिगत रुपमा परिवर्तन भएको छ । थप मैले दुइटा कुरा गर्दै थिएँ जुन यो वर्षको कार्यक्रममा समेत राखिएको छ । विमानस्थल अध्यागमन कार्यालयमा एपिज अर्थात एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम जडान गर्ने कुरा भएको छ । यसले जस्तो कनै व्यक्ति कतारबाट नेपाल उँड्यो भने त्यो उँड्दा बित्तिकै सिस्टमबाट को व्यक्ति नेपाल आउँदैछ हेरेर पत्ता लगाउन सकिन्छ । अर्को इगेट अर्थात नेपाली नागरिकलाई बाहिर जाँदैछ भने अध्यामगमनलाई पहिचान गर्न सहज हुने प्रविधी जडान हुँदैछ । यसले समग्रमा विमानस्थल अध्यागमन कार्यालय तुलनात्मक रुपमा सक्षम बोर्डरको रुपमा रहने अपेक्षा गर्न सकिन्छ ।
तपाइँले आफ्नो कार्यकालमा गर्न चाहेको तर गर्न नपाएको काम केही रहे कि ?
मूख्य समस्या हल गर्ने काम भयो । केही ससाना गर्ने क्रममै थिए । जस्तो दुईजना नभई ट्रेकिङमा जान नपाउने भन्ने व्यवस्था जुन व्यवहारिक छैन यो परिवर्तन गराउने क्रममा थिएँ । ट्रेकिङमा गाइडको साथ जान दुईजना विदेशी हुन पर्ने भन्ने छ । एक जना जान खोज्दैछ भने जबर्जस्ती अर्को खोज्न पर्ने भन्ने त्यति व्यवहारिक छैन । यो नियमलाई संशोधन गरेर स्विकृत गराउन बाँकी रह्यो । अर्को भनेको नेशनल पेमेन्ट गेटवेमा सुधार गरेर अन्तर्राष्ट्रिय स्तरमा अन्तर्र्राष्ट्रिय स्तरमै जहाँ सुकैबाट पैसा तिरेर नेपालको भिसा प्राप्त गर्ने सहज व्यवस्था बनाउन सकिरहेका छैनौँ ।यसमा अन्तर निकाय समन्वय नहुँदा काम हुन सकेको छैन। किनभने त्यसका लागि महा लेखा नियन्त्रक कार्यालयल अनुमति दिनपर्ने छ। संस्थागत समन्वय अभावमा काम गर्ने कुरा निर्णय गर्ने कुरामा प्रभाव पारेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !