काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले मंसिर ७ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशुपति , गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।
इवाखोला जलविद्युत आयोजनको मर्मतका लागि लिइएको अल्पकालिन ऋण अनुमोदनको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । यस कम्पनीको स्वामित्वमा रहेको साझापावर कम्पनीको कुल प्रस्तावित पूँजीको ५५ प्रतिशत दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ लगानी स्वीकृत गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेकाले आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट ४० प्रतिशत बोनस शेयर र २ दशमलव १ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछिको वर्ष भने लाभांश वितरण गरेको छैन् । कम्पनीले पछिल्लो समय ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ ।
१ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म विक्री गरी चैत २० गते बाँडफाँट गरेको हो । २३औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !