काठमाडौ । नेपाल सरकारको ऋण हरेक महिना बढ्दै गएको छ । देशको आम्दानी भन्दा ऋण ज्यादा भएको सरकारले लिएको ऋण पनि उत्पादनशिल क्षेत्रमा प्रयोग नगरेको आरोप छ । यसैकारण पनि मुलुकको सार्वजनिक ऋणको आकार लगातार बढ्दै गएको छ । साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋणको दायित्व असोज मसान्तसम्म आइपुग्दा २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३ महिनामा कुल १ खर्ब ३६ अर्ब ३१ करोड सार्वजनिक ऋण बढेको हो । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण थपिएको छ । यसअवधिमा सरकारले ६९ अर्ब ऋण तिरेको छ । पछिल्लो ३ महिनामा ५९ अर्ब ६० करोड आन्तरिक ऋण तथा ९ अर्ब ४३ करोड बाह्य ऋणको दायित्व घटाएको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर कुल ८३ अर्ब ७ करोड ८१ लाख भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
हासम्मको अवस्थामा सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो ।कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४४.२३ प्रतिशत पुगेको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६७ तथा बाह्य ऋण २२.५६ प्रतिशत कायम भएको छ । सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। त्यस्तै, २ खर्ब १७ अर्ब वैदेशिक ऋण आउने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असोज मसान्तसम्ममा १ खर्ब ३६ अर्ब ऋण प्राप्ति भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !