काठमाडौं । मलेसियाले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेर मासिक १७०० रिङ्गिट (करिब ५३ हजार नेपाली रूपैयाँ) पुर्याउने निर्णय गरेको छ । अक्टोबर १८ अर्थात् गत शुक्रबार घोषणा गरिएको नयाँ पारिश्रमिक आगामी फेब्रुअरी १ (माघ) देखि लागू हुनेछ। यसअघि त्यहाँ न्यूनतम मासिक पारिश्रमिक १५०० रिङ्गिट थियो ।
नेपाली युवाका लागि वर्षौंदेखि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसियाले यसरी न्यूनतम पारिश्रमिक बृद्धि गरेपछि त्यहाँ रहेका निम्नवर्गीय नेपालीले पनि लाभ पाउने भएका छन् ।मलेसियाले नयाँ बजेटमार्फत् यसरी पारिश्रमिक बृद्धि गर्ने घोषणा गरेको हो । सन् २०२५ को बजेट प्रस्तुत गर्दै त्यहाँका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक बढाउन सरकार सहमत भएको घोषणा गरेका छन् । अर्थमन्त्री समेत रहेका अनवरले ५ जनाभन्दा कम कर्मचारी भएका रोजगारदाताका लागि नयाँ पारिश्रमिकको प्रावधान लागू गर्न ६ महिना ढिला हुने बताएका छन् ।
मलेसियामा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा करिब २ लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएका थिए । आर्थिक वर्ष २०८०/८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपछि यो संख्या घटेर ८१ हजार ३८२ मा झरेको छ ।
सन् २०२३ को मार्चमा भएको निर्णयले विदेशी कामदारलाई सन् २०२४ को मे महिनाको अन्त्यसम्म मलेसिया प्रवेश गर्न अनुमति दिएको थियो । यसरी मलेसिया प्रवेश गर्न चाहने कामदारले गएको अप्रिल २१ भित्रै भिसा आवेदन दिइसक्नु पर्ने व्यवस्था गरिएको थियो । त्यहाँको सरकारले सन् २०२५ सम्ममा विदेशी कामदारको कोटा कुल श्रमशक्तिको १५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य राखेको छ ।
सन् २०१८ मा नेपाल र मलेसियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस अनुसार रोजगारदाताले भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने र शून्य लागत भर्ती नीति अपनाइएको थियो । भलै यो व्यवस्था केवल कागजमा मात्रै सिमित रह्यो।
त्यतिबेला मलेसियाको ७० प्रतिशतभन्दा बढी आप्रवासी श्रम शक्ति इन्डोनेसिया, बंगलादेश र नेपालका कामदाररहेको अनुमान गरिएको थियो । मलेसियामा भारतीय, भियतनामी, पाकिस्तानी र थाई कामदारहरूको पनि उल्लेखनीय संख्या छ।
मलेसियाको अध्यागमन विभागका अनुसार यो वर्षको फेब्रुअरीसम्म मलेसियामा करिब २१ लाख विदेशी कामदार कार्यरत छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !