काठमाडौं । तस्करीमा बरामद २५ करोड नगद घटनाको अनुसन्धानमा मुख्य मालिक पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिइएको छ ।
राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न मुख्य योजनाकारसहितका विभिन्न जालोहरू पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिएको हो । २५ करोड नगदसँगै पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामाले प्रयोग गर्ने गरेका दुईवटा मोबाइलको कल डिटेल्सबाट धेरै तथ्यहरू फेला पार्न सकिएको विभागका अनुसन्धान अधिकारीहरूले बताएका छन् । विभागका अधिकारीहरूले लामासँग लागातार बयान लिँदै आइरहेका छन् ।
तर, बयानका क्रममा लामाले नै थाहा छैन भन्ने गरेपछि विभागले लामाले प्रयोग गर्दै आइरहेको दुईवटा मोबाइलको कल डिटेल्स पत्ता लगाउन फरेन्सिक ल्याबमा पठाएको थियो । फरेन्सिकबाट कल डिटेल्स प्राप्त भएकाले २५ करोड तस्करीका धेरै क्लुहरू पत्ता लागिसकेको अनुसन्धान अधिकारीहरूको दाबी छ ।
राजश्व अनुसन्धान विभागले तस्करी प्रकरणमा संलग्न मुख्य पक्षहरूको अनुसन्धानका क्रममा नजिक पुग्न लागेको जानकारी दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !