काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा ११७ जना अधिकृत छनौट गरेको छ । छनौट भएका अधिकृतहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम बिहिबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्धेश्य कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । जनताको ठुलो विश्वास बैंक प्रति रहेको हुँदा व्यवसायीक ढङ्गबाट कार्य गर्ने सोच बनाउनु पर्ने आाश्यकता सिइओ खनालले औल्याए ।
उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको उल्लेख गरे । अरु सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने उनको विश्वास छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !