काठमाडौ । सरकारको आम्दानी भन्दा खर्च बढी भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सरकारको आम्दानी र खर्चको खाडल ७८ अर्ब १८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । हालसम्म सरकारको खर्च ३ खर्ब २० अर्ब २० करोड ११ लाख रुपैयाँ भएको छ । आम्दानी २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख रुपैयाँ भएको छ । यो आम्दानी कर, गैरकर, अनुदान र अन्य प्राप्तिबाट भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारको आम्दानी र खर्चको खाडल बढ्दै गएपनि राजस्व संकलन भने गतबर्षको तुलनामा सुधार भएको देखिन्छ ।
चालु आर्थिक २०८१/०८२ वर्षको तीन महिनामा सरकारले करिब साडे २ खर्ब राजस्व उठाएको छ । सरकारको आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । यो गत वर्षको यसै अवधिको तुलनामा २९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ बढी राजस्व हो । गत वर्ष यसै अवधिमा सरकारले २ अर्ब १९ अर्ब ११ करोड ५१ लख रुपैयाँ राजस्व संकलन गरेको थियो । सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय सरकारले राजस्व संकलनमा सुधार गर्दै गएको छ ।
राजस्व संकलन बढाउँन राजस्व परिचालन कमिटि नै बनाएर सरकारले काम गरिरहेको छ । यो तीन महिनासम्म सरकारको राजस्वले चालु खर्च धानिरहेको छ । अघिल्लो वर्षसम्म सरकारको राजस्व संकलन ५५ वर्ष यताकै कमजोर अवस्थामा भएको भन्दै विभिन्न खालका टिप्पणी हुने गरेको थियो । राजस्व संकलन गत वर्षको तुलनामा सुधार भएपनि अझै सन्तोषजनक नरहेको विज्ञहरु बताउँछन् । सरकारले यस अवधिमा करबाट २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ भने गैरकर २८ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । यो अवधिमा सरकारले कार्यालय सञ्चालन तथा कर्मचारी खर्चको लागि २ खर्ब २९ अर्ब ८५ करोड २१ लख रुपैयाँ खर्च गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !