काठमाडौँ । सेयर बजारमा उत्साह देखिएको छ । बुधबार नेप्से सूचक ४३.२२ विन्दुले बढेर २७४२.८८ अंकमा आइपुगेको छ । सूचकका साथमा कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सबै समूहका सूचक बढेका छन् ।
आजै बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर थप घटाउने निर्णय गरेका छन् । ब्याजदर निरन्तर घट्दै जाँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । कर्जाकै ब्याजदर एकल अंकमा आइसकेको छ । बैंकहरुमा अधिक तरलताको अवस्था छ । यसले सेयर बजारमा लगानी गर्नका लागि सर्वसाधारणलाई थप आकर्षित गरिरहेको देखिन्छ ।
अहिले अधिकांश बैंकहरुले सामान्य निक्षेपमा करिब ३ प्रतिशत हाराहारीमा मात्र ब्याज दिएका छन् । मुद्दति निक्षेपको ब्याजदर नै ६ प्रतिशतको हाराहारीमा मात्र छ । यसआधारमा बैंकमा निक्षेप राखेर लगानीकर्तालाई खासै फाइदा छैन् । यस्तो अवस्थामा निक्षेपकर्ताहरुसमेत बैंकबाट पैसा झिकेर सेयर बजारतिर मोडिने गर्छन् । यसले पनि सेयरको माग बढाउन सहयोग पुग्ने देखिन्छ ।
यस्तै, लगानीका अन्य क्षेत्र अझै गतिशील हुन सकेका छैनन् । घरजग्गा लगायतका क्षेत्र पनि ठप्पप्रायः छ । यस्तो अवस्थामा सेयर बजारमै आम लगानीकर्ताको आकर्षण बढ्न सक्ने देखिन्छ । समग्रमा बजारले विस्तारै बुल रन समाउँदै जाने संकेत मिलेको छ । केही उतारचढाव र करेक्सनहरुका बाबजुत नेप्से सकारात्मक लयमै लाग्ने विश्लेषकहरुको भनाई रहेको छ ।
अहिले लाभांशको सिजन चलेको छ । यतिबेला सेयरधनी बन्दा छोटो समयमै लाभांश हात पार्न सकिन्छ । बजार बढेमा पुँजीगत लाभ पनि प्राप्त हुन्छ । यसकारण पनि यतिबेला आम लगानीकर्ताको सेयर बजारमा थप रुचि बढ्ने गर्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !