काठमाडौं । सेयर बजारमा पुनः उत्साह फर्किएको छ । आइतबार नेप्से सूचक ५६.०९ विन्दुले बढेर २६५३.५८ अंकमा आएको छ । बजार २.१५ प्रतिशतले बढेको हो । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । उत्पादनमूलक समूह पनि ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यसअघि करेक्सन चक्रमा जाँदा बजारले छोटो समयमै आम लगानीकर्तालाई प्यानिक बनाएको थियो । तर अब उक्त चक्र समाप्त भएर बजार पुनः उकालो यात्रामा अघि बढेको संकेत मिलेको छ । नेपालीहरुको महान चाड दसैं सुरु भइरहेको अवस्थामा सेयर बजारले पनि केही राहत दिने संकेत देखिएको छ ।
यद्यपि, कारोबार रकम अझै औसतमा छ । तर नेप्से बढ्दै जाँदा सोहीअनुसार कारोबार रकमले पनि गति लिंदै जाने अनुमान गरिएको छ । नेप्से बढ्न थालेपछि मात्रै आम लगानीकर्ता पनि जुर्मुराउने गर्छन् । कारोबारी र दीर्घकालीन लगानीकर्ता दुवैथरिको सहभागिता बढ्दै जाँदा बजारमा पनि सकारात्मक प्रभाव पर्न जान्छ ।
चाडपर्वको सिजन र मसान्तको दबाबका कारण बजारले गति लिन सक्छ कि सक्दैन भन्ने पनि आम चासो थियो । यद्यपि, दसैंको मुखमा बजारले सकारात्मक संकेत नै देखाएको अवस्था छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता र निरन्तर घटिरहेको बैंक ब्याजदरले सेयर बजारलाई राम्रो सपोर्ट गरेको देखिन्छ । यही कारण बजारले अग्रगामी गति लिने संकेत देखाएको हो ।
यसैगरी, हाम्रो बजार निश्चित समयको बुल र बियरिस चक्रमा हिँड्ने गरेको छ । बजारले करिब ३ वर्ष लामो बियरिस चक्र पुरा गरी अब बुल रनमा लागेको देखिन्छ । यसकारण बजारप्रति अलि आशा बढेको लगानीकर्ताहरुको भनाई छ ।
बजारको फराकिलो वृद्धिका लागि सूचकसँगै कारोबार रकममा पनि क्रमशः तेजी हुँदै जानुपर्छ । यसो हुन सकेमा मात्र बजार दिगो सुधारतर्फ अघि बढ्न सक्छ । कारोबार रकम बढ्दै जाँदा बजारमा आएको आपूर्तिको सहज खपत हुन सक्छ । जसले बजारमा माग पक्षलाई सबल बनाइदिन सक्छ । यसो हुँदा सेयर भाउहरु बढ्न जान्छ ।
यसबीचमा चलेको करेक्सनका कारण बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । सेयर पुनः निकै सस्तो अवस्थामा पाइने भएकाले यसअघि प्रोफिट बुक गरेकाहरु पनि अब विस्तारै खरिदक्रममा लाग्न सक्ने सम्भावना पनि छ ।
यस्तै, सेयर बजारका लागि अहिले समग्र माहोल सकारात्मक देखिएको छ । सरकार सेयर बजार सुधारप्रति कटिबद्ध देखिएको छ । बजारलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले नीतिनियमहरु पनि संशोधनसहित जारी गरिरहेको छ । यी आधारमा नियम अनुसार करेक्सन हुँदै बजार माथितिरकै यात्रामा लाग्ने विश्लेषणहरु भइरहेका छन् ।
अहिले सेयर खरिद गर्दा जोखिम कम नै रहेको देखिन्छ । लाभांशको सिजन चलेको छ । सेयरहरु सस्ता भएका छन् । ब्रोकरहरुको संख्या थपिएकाले उनीहरुले नयाँ ग्राहक खोज्ने र बजारमा लगानीकर्ताको संख्या थपिने क्रम बढेको छ । यी कारणहरुले आगामी दिनहरुमा समग्रमा बजारको गति सकारात्मक हुँदै जाने अनुमान गर्न सकिन्छ ।
यता, आम लगानीकर्ताले भने सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा जोखिम बहन क्षमतालाई समेत मध्यनजर गर्दै लगानी गर्न सके लाभ लिन सक्ने सम्भावना अधिक रहन्छ । कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थ, लाभांश वितरण क्षमता, विगतको लाभांश इतिहास, कम्पनीका सञ्चालकहरु लगायतका पक्षमा अध्ययन गर्न सक्नुपर्छ ।
यस दिन ३०८ कम्पनीको १ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड ८३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा साहस ऊर्जा अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर तथा डेभलपमेन्ट लिमिटेड र तेस्रोमा नेपाल फाइनान्स परेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !