काठमाडौ । नेपाली बैंकले विदेशी बैंकहरुमा खाता खोलेर निक्षेप राख्ने गरेका छन् । सामान्यतया बैंकको काम भनेको निक्षेप संकलन गरी ऋण प्रवाह गर्नु हो । सर्वसाधारणबाट उठाएको पैसा आखिर किन राख्छन बैंकहरुले विदेशमा ? यो चासोको विषय हुनसक्छ । नेपालका बैंक तथा वित्तिय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब २ करोड ७० लाख रुपैयाँ विदेशी बैंकमा राखेका छन् । यसमा बाणिज्य बैंकको मात्र २९ अर्ब २ करोड ६० लाख रुपैयाँ रकम विदेशी बैंकमा रहेको पाइएको छ । क वर्गका २० वटै बाणिज्य बैंकले विदेशी बैंकमा पैसा राखेका छन् भने ख वर्गका विकास बैंकमा भने साग्रिला डेभलपमेन्ट बैंकले मात्र विदेशी बैंकमा पैसा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ । फाइनान्स कम्पनीको भने विदेशी बैंकमा पैसा छैन ।
अघिल्लो वर्ष वाणिज्य बैंकले ४६ अर्ब ४६ करोड ३० लाख रुपैयाँ नगद विदेशी बैंकमा राखेका थिए । यस पटक भने नेपाली बैंकहरुको विदेशी बैंकमा रहेको नगद ह्वात्तै घटेको छ ।
अमेरीका, युरोप, क्यानडा पाकिस्तान, भारत लगायतका देशमा नेपालका बैंकहरुले पैसा राख्ने गरेको पुर्व बैंकर भुवन दाहाल बताउँछन् । दाहालका अनुसार बैंकहरुले निक्षेप उठाएर स्वदेशमै कर्जा प्रवाहमा जोड दिने र बाँकी रहेको रकम मात्र विदेशी बैंकमा राख्ने गरेको बताउँछन् । उनीहरुले विशेष गरी विदेशका निजी र सरकारी बैंकमा पैसा राख्ने गरेका छन् । नेपालका बैंकहरुको पहुँच विदेशी केन्द्रिय बैंकमा भने नहुने दाहालले बताए ।
यता नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखरेलले आयातका लागि एलसि (प्रतितपत्र) खोलिने भएकाले त्यसको सेटलमेन्टको (भुक्तानी) लागि पनि विदेशी बैंकमा पैसा राख्ने गरेको बताए । पोखरेलका अनुसार नेपाली बैकले विदेशी बैंकमा पैसा जम्मा गर्नुको दुइवटा कारणमा एलसि सेटलमेन्ट र राम्रो ब्याज आम्दानी नै रहने गरेको छ ।
उनी भन्छन, ‘ रेमिट्यान्स बढेको र तरलता बढी भएको बेला विदेशी बैंकमा जम्मा गर्ने रकम पनि बढ्ने गरेको छ । नेपालमा तरलता अभाव भएको बेला विदेशी मुद्रालाईं नेपाली बनाएर नेपालीलाइ नै ऋण दिदा फाइदा हुन्थ्यो । तरलता बढी भएपछि कित राष्ट्र बैंकमा राख्नुपर्यो कित विदेशी बैंकमा । बैंकहरु आफैले राखे भने घाटा हुन्छ ।’
विदेशी बैंकमा सबैभन्दा बढी बचत ग्लोबल आइएमइ बैंकको छ । यसले ३ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बचत गरेको छ । दोस्रोमा हिमालयन बैंकको बढी बचत छ । यसले करिब ३ अर्ब ( २ अर्ब ९१ करोड ९० लाख) रुपैयाँ बचत गरेको छ ।बाणिज्य बैंकहरुको (क वर्ग) १७ खर्ब ४५ अर्ब ४६ करोड २० लाख रुपैयाँ तरल सम्पत्ति रहेको देखिन्छ । यो भनेको उनीहरुले नेपाल राष्ट्र बैंकमा जम्मा गरेको रकम (विदेशी तथा स्वदेशी मुद्रा), नेपालकै विभिन्न बाणिज्य बैंकमा राखिएको रकम, विदेशी बैंकमा राखिएको रकम र बैंकहरुले अर्को बैंकलाई छोटो समयको लागि दिएको सापटी सहितको रकम हो ।
विदेशी बैंकमा कुन बैंकको कति छ रकम ?
नेपाल बैंक – १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक – ८२ करो.ड ५० लाख रुपैयाँ
नबिल बैंक – एक अर्ब ३० करोड २० लाख रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – २ अर्ब ५ करोड ५० लाख रुपैयाँ
स्ट्याण्डर्ड चार्टड बैंक – २३ करोड ६० लाख रुपैयाँ
हिमालयन बैंक – २ अर्ब ९ करोड १९ लाख रुपैयाँ
नेपाल एसबिआइ बैंक – ९० करोड रुपैयाँ
एभरेष्ट बैंक – २ अर्ब १७ करोड ७० लाख रुपैयाँ
एनआइशी एशिया – १ अर्ब १४ करोड ३० लाख रुपैयाँ
माछापुछ्रे बैंक – १ अर्ब २४ करोड ४० लाख रुपैयाँ
कुमारी बैंक – १ अर्ब १ कोड ८० लाख रुपैयाँ
लक्ष्मी सनराइज बैंक – १ अर्ब २१ करोड ३० लाख रुपैयाँ
सिद्धार्थ बैंक – १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ
कृषि विकास बैंक – १३ करोड ९० लाख रुपैयाँ रुपैयाँ
ग्लोबल आइएमइ बैंक – ३ अर्ब ८६ करोड ८० लाख रुपैयाँ
सिटिजन्स बैंक – १ अर्ब ४८ करोड ७० लाख रुपैयाँ
प्राइम बैंक – ९४ करोड २० लाख रुपैयाँ रुपैयाँ
एनएमबी बैंक -१ अर्ब ५७ करोड १० लाख रुपैयाँ
प्रभु बैंक – एक अर्ब ३ करोड ३० लाख रुपैयाँ
सानिमा बैंक -१ अर्ब ८१ करोड रुपैयाँ
नेपालका वाणिज्य बैैंकहरुको हालको चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !