काठमाडौं । यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर साताको अन्तिममा फेरि ओरालो लागेको छ । मध्येपूर्वमा चलेको द्वन्द्व, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा पनि प्रभाव परेको विश्लेषकहरुको भनाई छ । यस साताको चौथो दिन अर्थात, बुधबार नयाँ उचाईमा पुगेको सुनको भाउ त्यसपछिका दिनमा भने केही घटेको छ । यस साता सबैभन्दा बढी बुधबार सुनको भाउ तोलामा १ लाख ५३ हजार रुपैयाँसम्म पुग्यो । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो । प्रत्येक साताजसो सुनको मूल्यले नयाँ कीर्तिमान राख्दै गएको छ ।
नेपाली बजारमा पनि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ३० हजार ८३० रुपैयाँ रहेको सुनको मूल्य बुधबारसम्म आइपुग्दा हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख ३१ हजार १७५ रुपैयाँ पुगेको थियो । त्यसपछिका दिन भने भाउ केही ओरालो लागेको देखिएको छ ।
शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्रामको रेट १ लाख २९ हजार ८०० रुपैयाँ कायम भएको छ । प्रति तोला सुनको भाउ १ लाख ५१ हजार ४०० कायम भएको छ । यता, यो साता नेपाली बजारमा चाँदीको मूल्य भने सामान्य घटेको छ । आइतबार प्रति १० ग्राम १ हजार ५५२ रुपैयाँ रहेको भाउ शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ५५६ रुपैयाँ कायम भएको छ ।
समग्रमा हेर्दा लामो समयदेखि सुनको भाउले क्रमशः नयाँ उचाई बनाउँदै गएको देखिन्छ । विश्व बजारमै यसको माग बढिरहेको छ । माग बढेकै कारण मूल्य पनि वृद्धि भएको हो । विश्वभरका लगानीकर्ता सञ्चय गर्न सजिलो, चाहिएको बेला तुरुन्तै नगदमा परिणत गर्न सकिने लगायतका कारण यसतर्फ आकर्षित भइरहेको जानकारहरु बताउँछन् ।
विश्वका प्रमुख शक्ति राष्ट्रहरुले सुन सञ्चय गर्नेक्रम बढाइरहेको पाइन्छ । यसले पनि मूल्य थप बढेको हो । गरगहना बनाउन पनि यसको व्यापक प्रयोग हुन्छ । विश्व बजारमा भाउ बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !