काठमाडौं । पछिल्लो डेढ महीनायता नेप्से परिसूचक बढ्दो छ । पछिल्लो कारोबार दिन नेप्से २ हजार ९७४ दशमलव ४६ विन्दुमा छ ।
बजार बढेपनि ८ ओटा वाणिज्य बैंकको शेयर मूल्य भने ३ सयभन्दा मुनि छ, जसमा कुमारी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, एनएमबी बैंक, लक्ष्मी सन्राइज बैंक, ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंक छन् ।
यस्तो अवस्थामा लगानीकर्तालाई लगानीको अवसर हुने गर्छ । अहिलेको समय दीर्घकालीन अथवा अल्पकालीन लगानीको लागि राम्रो समय रहेको जानकार बताउँछन् ।
तर, बजारमा लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष अध्ययन गर्नु आवश्यक हुन्छ । यसबारे जानकारी लिएर शेयर बजारमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकार बताउँछन् ।
कम्पनीको आधारभूत पक्षको एक महत्त्वपूर्ण सूचक हो मूल्य आम्दानी अनुपात(पीई रेशियो)। पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गर्दा आउने भागफल मूल्य आम्दानी अनुपात हो । यो अनुपात जति कम भयो त्यति नै राम्रो मानिन्छ ।
मूल्य आम्दानी अनुपात कम भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम हुने जानकार बताउँछन् । सामान्यतया मूल्य आम्दानी अनुपात २० भन्दा कम रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ ।
नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको मात्रै यस्तो अनुपात २० भन्दा कम छ । यी बैंकहरूमध्ये प्रभु बैंकको यस्तो अनुपात १४ दशलमव ६६ गुणा छ । त्यस्तै प्राइम कमर्शियल बैंकको पीई रेशियो १६ दशलमव ०९ गुणा छ । कृषि विकास बैंकको यस्तो रेशियो १६ दशमलव ६१ गुणा छ ।
पीई रेशियो सबैभन्दा बढी हुनेमा एनआईसी एशिया बैंक छ । बैंकको उक्त अनुपात ५७ दशमलव ०२ गुणा छ । त्यस्तै कुमारी बैंकको उक्त अनुपात २९ दशलमव १९ गुणा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !