काठमाडौं । सन् २०२० देखि २०२१ को अगस्ट महिनासम्म चलेको बुल रनमा लगानीकर्ताको आकर्षणमा पर्न नसकेका एभरेष्ट, स्टान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंक अहिले २०१८ यताकै उच्च विन्दुमा पुगेका छन् । सो समय लगानीकर्ताले खरिद गर्न नरुचाएका यी कम्पनीहरुको सेयर भाउ आज बुधबार आक्रामकरुपमा बढेका छन् । जसमध्ये क्लोजिङका आधारमा नेपाल एसबीआई बैंक २०१८ यताकै उच्च विन्दुमा पुगेको छ ।
यता, स्टान्डर्ड चार्टर्ड २०१८ अप्रिल महिना र एभरेष्ट्र बैंक २०१७ अप्रिय महिनायताकै उच्च रेटमा पुगेका छन् । जबकि, बैंकिङ समूह नै सन् २०२२ यताको हाई एरियामा छ । यसको अर्थ यी ३ बैंक र बैंकिङ इन्डेक्सको फरक स्वभाव देखिएको छ । गत बुल रनमा लगानीकर्ताको नजरमा पर्न नसकेका यी ३ वटा बैंकले भने अहिले निकै आकर्षण बटुलेका छन् ।
बजार भाउसँगै यिनीहरुको कारोबार रकममा सुधार देखिएको छ । आज बुधबार मात्रै एभरेष्टको ६ लाख ३ हजार कित्ता सेयर कारोबार भएको छ । चार्टर्डको २ लाख १४ हजार र एसबीआईको ६ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ । एसबीआईको यो हालसम्मकै उच्च कारोबार हो । बाँकी २ बैंकको पनि कारोबार निकै बढेको छ ।
त्यसो त, बैंकिङ इन्डेक्सले सन् २०२४ को मे महिनामा लो लगाउँदा यी ३ बैंकले सन् २०२२ को जुलाईमै लो लगाई सकेका थिए । अहिले एभरेष्ट बैंकको सेयर बैंकिङ समूहको सबैभन्दा महँगो सेयर हो । दोस्रोमा स्टान्डर्ड चार्टर्डको सेयर रहेको छ ।
कोभिड(१९ पछि सुरु भएको बुल मार्केटमा अरु बैंकहरुको वृद्धि सन्तोषजनक नै थियो । तर, यी ३ बैंक भने सोचेजसरी बढ्न सकेनन् । यी बैंकहरु बिदेशी लगानीका कम्पनी हुन् । यिनीहरुले लाभांशको रुपमा नगदलाई बढी प्राथमिकता दिने गर्छन् । जुन नेपाली लगानीकर्ताले खासै रुचाउँदैनन् ।
नेपाली लगानीकर्तालाई सकभर बोनस सेयर नै मन पर्छ । तर, यिनीहरुले बोनस भन्दा नगदलाई नै बढी प्राथमिकतामा राख्ने गरेको जानकारहरुले बताउँछन् । जसले गर्दा पहिला सेयर भाउमा खासै राम्रो वृद्धि नदेखिएको उनीहरुको भनाई छ । तर, लगानीकर्तालाई २०-२५ प्रतिशत लाभांश दिन सक्ने क्षमता भएका कम्पनीको भाउ यति कम रेटमा हाल उपलब्ध हुन नसक्ने हुँदा अहिले बजार भाउमा वृद्धि भएको हुन सक्ने विश्लेषकहरुको भनाई छ ।
सेयर बजारका प्राविधिक विश्लेषक अजय सिंह थापा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २०-२५ प्रतिशतसम्म लाभांश क्षमता भएका कम्पनीहरु ७०० देखि ८०० रेटमा नपाउने हुँदा अहिले यिनीहरुको भाउमा वृद्धि देखिएको बताउँछन् ।
उनले भने, ‘यी बैंकहरुको वित्तीय अवस्था राम्रो छ र लाभांश क्षमता पनि छ । नेप्सेमा २०-२५ प्रतिशत लाभांश क्षमता भएका कम्पनीहरु एकदमै कम छन् । त्यति क्षमता भएकाहरुको सेयर भाउ १५०० देखि २००० माथि नै छ । अरु सेक्टरमा २०-२५ लाभांश दिने क्षमता भए कम्पनी १५००-२००० रुपैयाँसम्म पर्छ । त्यसैले यी बैंकहरुको भाउ सस्तो देखियो ।
बैंक सर्ट ट्रमको लागि भन्दा पनि लङ ट्रमको लागि लगानी गर्नु धेरै उपयुक्त हुने देखिएर नै लगानीकर्ताको आकर्षण बढेको हो ।’ बुधबार एभरेष्ट्र बैंक ४३ रुपैयाँ, चार्टर्ड बैंक ३९.२० र नेपाल एसबीआई बैंक २४ रुपैयाँ बढेको छ । यिनीहरु क्रमशः ५.९१ प्रतिशत, ५.४४ र ५.३८ प्रतिशत बढेका हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !