काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सिमेन्ट र क्लिंकरको निर्यात ३ गुणा बढेको छ । भन्सार विभागका अनुसार मूल्यका आधारमा ३९४.३९ प्रतिशत र परिमाणका आधारमा १८२.७८ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात बढेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । जबकि आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्ष ३५ करोड ८९ लाख रुपैयाँ बराबरको सिमेन्ट र ४२ करोड ३ लाख रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्ष १ अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको ५ लाख ६ हजार ८४१ टन क्लिंकर निर्यात भएको छ । विभागका अनुसार १ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७६ टन तयारी सिमेन्ट निर्यात पनि भएको छ । नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै हो ।
पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम, सीजी सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । त्यसबेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था थियो । तर सिमेन्ट निर्यातले निरन्तरता पाउन सकेको थिएन ।
अहिले नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको छ । सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । त्यसमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ ।
सरकारले सिमेन्ट निर्यात बढाउन करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । अघिल्लो वर्षको अनुदान पाइसकेको र यस वर्षको प्रक्रियामा रहेको उद्योगीहरू बताउँछन् । निर्माण व्यवसायीका विविध समस्याका कारण सिमेन्टको माग २५ देखि ३० प्रतिशत मात्रै रहेको पाल्पा सिमेन्ट उद्योगका सञ्चालक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘सिमेन्टको आन्तरिक माग न्यून छ । प्लान्ट चलाउनकै लागि भारतमा निर्यात गरिरहेको छौं,’ उनले भने ।
निर्माण व्यवसायीले पैसा नपाएको, नयाँ काम नगरेको र सरकारले पनि नयाँ ठेक्का लगाउन नसक्दा सिमेन्टको आन्तरिक माग घटेको अग्रवालको बुझाइ छ । पछिल्लो समय कच्चा पदार्थ पनि स्वदेशमै उत्पादन हुने हुँदा निर्यात बढ्दै गएको उनले जनाए । स्वदेशी उद्योगको उत्पादन क्षमता बढी रहेकाले स्वदेशी माग बढे पनि निर्यातमा असर नपर्ने उनको भनाइ छ । ‘भारतमा पनि नेपाली ब्रान्ड स्थापित हुन थाल्यो,’ उनले भने, ‘मागअनुसार सामान पठाइरहेका छौं । नेपाली सिमेन्टको गुणस्तर पनि स्थापित हुन थालेको छ । निर्यातमा पनि सहज वातावरण बन्दै गएको छ ।’
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !