काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् ।
इन्जिनियर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसा लायक भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए । देशलाई अहिलेको बिग्रिएको अवस्थाबाट उज्यालो तर्फ लैजानु आजको आवश्यकता रहेको ओलीले बताए ।
ओलीले सरकार देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ’, ओलीले भने । अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएको ओलीले बताए । यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ’, उनले भने । ओलीले इञ्जिनियर देश बनाउने हात भएकोले देश निर्माणको काममा सहयोग गर्न आग्रह गरे ।
उनले अप्ठेरा खोज्ने होइन समाधान गर्दै जानुपर्नेमा जोड दिए । उनले सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले यसमा ढुक्क हुन समेत आग्रह गरे ।
रासस
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !