काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज सी-चेकमा भएको लापरबाही तथा कम्पनी छनोट र न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको लापरबाहीको विषयमा अध्ययन गर्न छानबीन समिति गठन भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको छानबीन समिति गठन गरेका छन्।
समिति सदस्यमा प्राधिकरणकै पूर्वमहानिर्देशक रतिशचन्द्र लालसमेत रहेका छन्। समितको सदस्य मन्त्रालयका एकजना प्रतिनिधि सदस्य सचिव रहने छन्। समितमा थप एकजना विज्ञ र एकजना कानूनी जानकार सदस्य रहने छन्।
वाइडबडी जहाज सी-चेक प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग मन्त्रालयसँग अध्ययन प्रतिवेदन मागेको थियो। अख्तियारको पत्रसँग मन्त्रालयले निगमसँग आवश्य सबै कागजपत्रसमेत मागिसकेको छ।
निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले समयमा नै जहाजको सी-चेकका लागि कम्पनी छनोट नगरी अन्तिम समयमा हतार हतारमा काम गर्दै सेटिङमा इटालियन कम्पनी छनोट गरेका थिए।कम्पनी छनोटसँगै अधिकारीले कानूनी प्रक्रिया नै पूरा नगरी जहाज इटाली पठाएका थिए। उक्त विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकारीलाई एकाउन्टेबल पदमा काम गर्न रोक लगाउँदै छानबीन थालिसकेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !