नेकपा (एमाले) बाट बिद्रोह गरी बि सं २०७८ मा अलग पार्टीको रुपमा स्थापित भएको नेकपा (एकीकृत समाजवादी) को यहि असार १६ देखि राजधानीमा महाधिवेशन हुन गईरहेको छ ।
राजनीतिक दल सम्बन्धी नियममा पार्टी गठन भएको ५ बर्ष भित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था भएतापनि समाजवादीले पार्टी गठन भएको करिब ३ बर्षको वरिपरि नै महाधिवेशन गर्न लागेको छ । महाधिवेशनको संघारमा पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा तिब्र रस्साकस्सी देखिन्छ । विशेषगरी वर्तमान अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा वर्तमान महासचिव घनश्याम भुषालका बिचमा कसले नेतृत्व गर्ने भन्ने प्रतिष्पर्धा देखिन्छ ।
विश्व कम्युनिस्ट यात्राको २०० बर्षको सेरोफेरोमा विश्वभर कम्युनिस्ट पार्टीहरुको उदय, क्रान्ति साथ-साथै विसर्जन तथा प्रतिक्रान्ति समेत भएका छन् । सन १८६४ को प्रथम अन्तराष्ट्रियमै मार्क्स, बर्नास्त्रिन तथा बाकुनिन बीच तिब्र बैचारिक संघर्ष भएको पाइन्छ । मार्क्सले अवस्था तयार नभएको भन्दाभन्दै ब्ल्यांकीको हठका कारण फ्रान्सेली कम्युन असफल हुन पुगेको थियो । यधपी क्रान्ति सुरुभैसकेपछी भने त्यसमा मार्क्सको पूर्ण समर्थन रह्यो । त्यसयता संसारभर नै कम्युनिस्ट पार्टीहरुमा बैचारिक संघर्ष, बिद्रोह र फुट भईरहेको छ ।
नेपालमा पनि ७५ बर्षको इतिहासमा नेपाल कम्युनिस्ट पार्टीले अनेकन उतारचढाव झेलेको छ । २००६ सालमा स्थापना भएको पार्टीले २०१९ सालमै विभाजनको दुखद: अवस्था सामना गर्नुपरेको थियो । केशरजंग रायमाझी दरबारको पक्षमा लागेपछि पार्टी विभाजन भएको थियो। २०२७ सालमा पुष्पलालको नेतृत्वमा दोश्रो विभाजन हुन पुग्यो । २०३१ मा मोहन बिक्रमहरुले पुष्पलालबाट फुटाएर चौथो महाधिवेशन गरे र अलग पार्टी बनाए । नेपालमा हाल पुष्पलाल समूह (झापा क्रान्ति समूह), मोहन बिक्रम समूह (चौथो महाधिवेशन समूह ) र केहि अलग धार बोकेका कम्युनिस्ट पार्टीहरु अस्तित्वमा छन् । पुष्पलाल समुहको निरन्तरतामा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माले लगायत छन् भने चौम समुहको निरन्तरतामा नेकपा (माओवादी) केन्द्र, वैज्ञानिक समाजवादी पार्टी लगायत छन् ।
हाल नेपालमा १६ ओटा कम्युनिस्ट पार्टीहरु अस्तित्वमा रहेका देखिन्छन भने यिनीहरु मध्ये कोहि सत्ता र सदनमा छन् भने कोहि सत्ता र सदन बाहिर छन् । पुष्पलाल समुह (झापा बिद्रोह ) कोके, माले हुँदै विकसित भएको नेकपा (एमाले) २०५४ सालको छैठौं महाधिवेशन लगत्तै फुटेको थियो। महाकाली सन्धिको बिषयलाई लिएर तिब्र विवाद भए संगै साहना प्रधान बामदेव गौतमहरुले पार्टी विभाजन गरेका थिए यधपी २०५८ मा फेरी एकता हुन पुग्यो । एमाले विभाजन यत्तिमै सिमित भएन २०७८ मा पार्टी भित्र बिद्रोह भयो र माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बन्न पुग्यो । हाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा एमाले र समाजवादी सहितको केन्द्रिय सरकार रहेको छ भने प्रदेशहरुमा समेत सत्ता गठबन्धन कायम छ ।
२०७१ को नवौँ महाधिवेशन संगै पार्टी अध्यक्षमा केपी ओलीको उदय भएपछि नेकपा एमालेमा गडबड सुरु भएको पाइन्छ । आफु इतरका विचार, समूह, र व्यक्तिहरुलाई उपेक्षा गर्ने प्रवृत्ति उनमा व्यापक देखियो फलस्वरूप पार्टीमा समस्या सुरु हुन गयो । त्यसका बावजुद २०७४ को चुनाबमा माओवादी संग चुनावी एकता भयो जसको परिणाम निकै राम्रो आयो र स्वयं केपी ओली नै प्रधानमन्त्री बन्न पुगे । ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । त्यतिबेला मुलुक नै बाममय बन्न पुगेको थियो । तर त्यत्रो बैभब जोगिन सकेन तत्कालिन नेतृत्व त्यसमा चुक्यो। माओवादी र एमालेको एकतालाई सर्वोच्चले खारेज गरिदियो र एमाले माओवादी पुन: अस्तित्वमा आए । नेकपा भित्रको विवाद एमाले भित्र पुगेर पनि समाधान हुन सकेन र पार्टी विभाजन हुन पुग्यो ।
हाल नेपालमा कायम अधिकांश पार्टीका नेतृत्व आन्दोलनमा होमिएर जनताको हक अधिकारको निम्ति लडेर आएका हुन । तर अहिले हेर्दा उनीहरु विलासी, पदको लोभी, सिद्दान्त बाट च्युत जस्ता देखिन्छन । उनीहरु कार्यकारी पद छोड्नै नखोजेको जस्तो देखिन्छ। कम्युनिस्ट पार्टीमा झन् तिब्र विचलनको आभास भईरहेको छ । नेपालका कम्युनिस्टहरुले सामाजिक अन्तर्विरोधलाई ठीक ढङ्गले पहिचान गर्ने नसकेको जस्तो देखिन्छ जसका कारण २१ औं शताब्दीमा क्रान्तिको कार्यदिशा र विकासमा चुनौती देखिएको छ। देशमा अन्याय, बेरोजगारी, हत्या, हिंसा, बलात्कार जस्ता घटना दिनानुदिन बढ्दै छ ।
युवा पंक्ति यो देशमा आफ्नो भविष्य पटक्कै देखिरहेका छैनन् । “यो देशमा केहि हुँदैन सबै नेताले बिगारिसके” भन्ने भाष्य जबर्जस्त स्थापित हुँदैछ । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनले यस्तो अवस्थालाई चिर्न सक्नुपर्छ र कम्तिमा हामी फरक छौं है भनेर दुनियाँ सामू देखाउन सक्नुपर्छ । जसको निम्ति अब पुस्ता हस्तान्तरण गर्न अहिलेको नेतृत्व तयार हुनुपर्छ र आजको नेतृत्वको योगदानलाई उच्च कदर गर्दै अब हामी नेतृत्व गर्छौं तपाईंहरु सल्लाह दिनुस भनेर नेतृत्व लिन अर्को पुस्ता तयार हुनुपर्छ ।
घनश्याम भुषाल नेतृत्व लिन तयार देखिएका छन् भने झलनाथ खनाल पुस्ता हस्तान्तरण गर्न तयार भएका छन् अब माधव कुमार नेपाल पनि पुस्ता हस्तान्तरण गर्न तयार हुनुपर्छ । कमरेड घनश्याम भुषालको नेतृत्वमा एउटा आशालाग्दो, भरपर्दो कम्युनिस्ट पार्टीको रुपमा नेकपा (एकीकृत समाजवादी) उदाउन सक्नुपर्छ र नेपाली समाजका यी तमाम समस्याका बारेमा सहि विश्लेषण गरी कार्ययोजना ल्याउनुपर्छ । महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन (मस्यौदा) क्रान्तिकारी छ । सोहि अनुरुप पार्टीको आगामी यात्रा तय गर्न सक्नुपर्छ। अन्यथा यस पार्टीको बिद्रोह र स्थापनाको औचित्य पुष्टि हुन गाह्रो पर्नेछ ।
-विशाल क्षितिज
[email protected]
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !